काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद धनन्जय रेग्मीले सुगौली सन्धि सम्बन्धी आधिकारिक कपी आफूहरूले पढ्न नपाएको गुनासो गरेका छन्।
बुधबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले सीमा समस्या बुझ्न सन्धिको स्पष्ट जानकारी आवश्यक रहेको बताए। बैठकमा उपस्थित शिशिर खनाल तर्फ संकेत गर्दै उनले भने, ‘सीमाको वास्तविक समस्या के हो ? सुगौली सन्धिमा के उल्लेख छ ? हामीले पढ्न पाएका छैनौँ। त्यसको आधिकारिक कपी कहाँ छ ? अध्ययन गर्न पाए यथार्थ थाहा हुन्थ्यो।’
बैठककै क्रममा सांसद रेग्मीले नेपालमा ‘रिसर्चर भिसा’ व्यवस्था आवश्यक रहेको पनि औंल्याए। हाल विदेशी अनुसन्धानकर्ताहरू पर्यटक भिसामै आउने गरेको उल्लेख गर्दै उनले अनुसन्धानमैत्री वातावरण बनाउन छुट्टै भिसा व्यवस्था गर्न सरकारसँग आग्रह गरे।
उनका अनुसार, ‘रिसर्चर भिसा उपलब्ध गराए विदेशी अनुसन्धानकर्ताको सम्मान बढ्छ र अनुसन्धान क्षेत्रलाई थप प्रोत्साहन मिल्छ।’
रेग्मीले विदेशमा रहेका नेपालीहरूको यथार्थ विवरण संकलन गर्नुपर्नेमा पनि जोड दिए। कति नेपाली विदेशमा छन्, कति विद्यार्थी बाहिर गएका छन्, र कुन माध्यमबाट कति रकम बाहिरिएको छ भन्ने स्पष्ट तथ्यांक आवश्यक रहेको उनले बताए।
‘हामीले रेमिट्यान्स भित्रिएको मात्र हेरेका छौँ, बाहिरिएको पक्षमा ध्यान दिएका छैनौँ। समस्या पहिचान गरेपछि मात्र समाधान सम्भव हुन्छ,’ उनले भने।
उक्त समितिको बैठकमा हाल परराष्ट्र मन्त्रालय का नीति, योजना तथा चालु कार्यक्रममाथि छलफल भइरहेको छ।
प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया