काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन जुनसुकै विषयमा पनि छलफल गर्न तयार रहेको बताएका छन् ।
महोत्तरीको बर्दिबासमा बुधबार आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले आन्तरिक मतभेदलाई संवादबाट नै समाधान गर्न सकिने स्पष्ट पारे ।
“म सबै कुरामा छलफल गर्न र मिलाउन तयार छु,” उनले भने, “साथीहरूको चित्त बुझाएर पार्टीलाई मिलाएर अगाडि बढाउनेछु ।”
उनले संस्थापन इतर समूहका नेताहरूलाई क्रियाशील सदस्यता अद्यावधिक कार्यमा अवरोध नगर्न आग्रह गरे ।
पार्टी बलियो बनाउने अभियानमा कसैले पनि खिचपिच गर्न नहुने उनको भनाइ थियो ।
सदस्यता अद्यावधिक प्रक्रियाप्रति इतर समूहले असन्तुष्टि जनाएकोमा आश्चर्य व्यक्त गर्दै थापाले भने, “क्रियाशील सदस्यता अद्यावधिक गर्न पाइँदैन भन्ने कुराले म अचम्ममा परेको छु ।
यो प्रत्येक सदस्यको अधिकार हो ।”
सभापति थापाले पार्टी अनुशासनको विषयलाई पनि कडाइका साथ उठाए ।
आम मतदाताले जसलाई मन लाग्यो मत दिन सक्ने तर पार्टीको क्रियाशील सदस्य र नेताले भने संगठनको निर्णय मान्नुपर्ने उनले बताए ।
“रुख चिन्हभन्दा दायाँबायाँ मत हाल्न पाइँदैन,” उनले चेतावनी दिँदै भने ।
गत निर्वाचनमा आधिकारिक उम्मेदवारविरुद्ध गएका वा मत नहाल्ने कार्यकर्तालाई संकेत गर्दै उनले अनुशासन उल्लंघन गर्ने व्यक्तिलाई केही समयका लागि पार्टी सदस्यता र जिम्मेवारीबाट बाहिर राखिने स्पष्ट पारे ।
प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया