काठमाडौं । सरकारले सञ्चार क्षेत्रलाई थप जिम्मेवार र जवाफदेही बनाउन मिडियाको ‘कन्टेन्ट मनिटरिङ’ (सामग्री अनुगमन) लाई सशक्त बनाउने भएको छ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रेस काउन्सिल नेपालको क्षमता अभिवृद्धि गरी अनुगमन कार्यलाई प्रभावकारी बनाइने बताएका हुन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री डा. तिमिल्सिनाले मिडिया क्षेत्रलाई स्वच्छ, स्वतन्त्र र गौरव गर्न सकिने बनाउन सरकार प्रतिबद्ध रहेको सुनाए।
उनले काउन्सिललाई साधन स्रोत सम्पन्न बनाएर अनुगमन प्रणालीमा सुधार ल्याइने जानकारी दिए।
मन्त्रालयले सञ्चारसँगै चलचित्र क्षेत्रको विकासका लागि समेत विशेष योजना अघि सारेको छ। मौलिक पहिचान झल्काउने चलचित्र निर्माणलाई प्रोत्साहन गर्न अनुदान दिने र मातृभाषा तथा कला क्षेत्रका विषयवस्तुलाई प्राथमिकताका साथ सम्प्रेषण गर्न सरकारी सञ्चार माध्यमलाई सक्रिय बनाउने बजेटरी व्यवस्था गरिएको उनले बताए।
सञ्चारमन्त्री डा. तिमिल्सिनाले सूचनाको हकको पूर्ण कार्यान्वयनका लागि सरकारी सूचनाहरू आधिकारिक सामाजिक सञ्जाल र प्रणालीमार्फत प्रवाह भइरहेको उल्लेख गरे।
नागरिक एपमार्फत सरकारी सेवाको पहुँच विस्तार गरिनुका साथै ‘डिजिटल वर्क हब’ र ‘कम्युनिटी आईटी सेन्टर’ स्थापनाको सुझावलाई सरकारले आत्मसात गरेको उनको भनाइ छ।
संसद् भवन परिसरमा सञ्चारकर्मीहरूका लागि हाल अस्थायी व्यवस्था गरिएको जानकारी दिँदै उनले आगामी दिनमा स्थायी समाधान खोजिने बताए। सरकारले सूचना प्रविधिलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरी नेपाललाई ‘टेक हब’ का रूपमा विकास गर्ने लक्ष्य राखेको समेत उनले सदनलाई जानकारी गराए।
प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया