काठमाडौं । थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टर (टीडीसी) ले ‘नेपाल स्कुल फुटबल लिग (एन.एस.एफ.एल.) यू–१६’ आयोजना गर्ने भएको छ। शुक्रबार आयोजक संस्थाले प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता आगामी जेठ ६ गतेदेखि ललितपुरको धापाखेलस्थित टीडीसी मैदानमा सञ्चालन हुने जानकारी दिएको हो।
विद्यालयस्तरमै फुटबल प्रतिभाको खोजी तथा युवा खेलाडीको चौतर्फी विकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा काठमाडौं उपत्यकाका आठ प्रतिष्ठित विद्यालयको सहभागिता रहनेछ। प्रतियोगिता लिग चरणअन्तर्गत डबल राउण्ड रोबिन प्रणालीमा सञ्चालन गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा जेम्स स्कुल (जेम्स थन्डरबोल्ट्स), डिएभी स्कुल (सुपर डाँफेज), काञ्जिरोवा स्कुल (एफसी माउन्ट काञ्जिरोवा), लिटिल एन्जल्स स्कूल (एल.ए. ड्रागन), रातो बंगला स्कुल (रेड पाण्डाज), एक्सेल्सर स्कुल (एक्सेल्सर इगल्स), सेन्ट जेभियर्स स्कुल (सगरमाथा फुटबल क्लब) तथा पाठशाला नेपाल फाउन्डेसन (पाठशाला राइनोज) सहभागी हुनेछन्।
प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ५० हजार रुपैयाँ हात पार्नेछ। यस्तै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिनेछ। यस संस्करणदेखि उत्कृष्ट प्रशिक्षक तथा ‘फेयर प्ले अवार्ड’ पनि थप गरिएको आयोजकले जनाएको छ, जसका लागि पनि ५०–५० हजार रुपैयाँ पुरस्कार राखिएको छ।
यू–१६ उमेर समूहका खेलाडीले मात्र सहभागिता जनाउन पाउने उक्त प्रतियोगितालाई विद्यालयस्तरको सम्भवतः सबैभन्दा ठूलो पुरस्कार राशिको फुटबल प्रतियोगिता मानिएको छ। प्रतियोगिताको फाइनल खेल विशेष समारोहबीच आयोजना गरी समापन गरिने आयोजकले जनाएको छ।
थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरका कार्यकारी निर्देशक वरुण खड्काका अनुसार हाल टीडीसीमा फुटबल, स्विमिङ, टेनिस, फुटसल, क्रिकेटलगायत विभिन्न खेलका प्रशिक्षण सञ्चालन भइरहेका छन् भने आगामी दिनमा अन्य खेलका कार्यक्रमसमेत विस्तार गरिने लक्ष्य रहेको छ।
प्रतियोगितामा ३६० एजुकेशन सहआयोजकको रूपमा रहेको छ भने एसटिम इनर्जी ड्रिंक ऊर्जा पार्टनर, वन अर एड मार्केटिङ पार्टनर, इमेज च्यानल टेलिभिजन पार्टनर, हेलियोस अस्पताल मेडिकल पार्टनर, माछापुच्छ्रे बैंक बैंकिङ पार्टनर, शिखर इन्स्योरेन्स इन्स्योरेन्स पार्टनर तथा मोरङ अटो वर्क्स मोबिलिटी पार्टनरको रूपमा रहेका छन्।
प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया