काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग ले जनाएको छ। यसको प्रभावका कारण देशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार बुधबार केही जिल्लामा भारी वर्षासमेत भएको थियो। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने मधेशसहित बागमती र गण्डकीका तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा मधेश, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा आज तातो दिन रहने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
प्रकाशित मिति: ७ जेष्ठ २०८३, बिहिबार













प्रतिक्रिया