काठमाडौं । नेपाली कांग्रेसका सांसद निश्कल राईले सभामुख डोलप्रसाद अर्याललाई विगतमा प्रतिपक्षमा हुँदा अपनाइएका संसदीय गतिविधिको स्मरण गराउँदै अहिलेको विरोधलाई मात्र ‘अमर्यादित’ भन्नु उचित नहुने बताएका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले हिजो निलो स्कार्फसहित गरिएको विरोध र आज प्लेकार्डमार्फत भइरहेको प्रदर्शनलाई फरक दृष्टिले हेर्न नहुने धारणा राखे।
प्रतिपक्षी दल श्रम संस्कृति पार्टीले सदनमा प्रदर्शन गरेको प्लेकार्डप्रति सभामुख अर्यालले असन्तुष्टि जनाएपछि राईले त्यसमा आपत्ति व्यक्त गरेका हुन्। उनले विगतमा अहिले सत्तामा रहेका नेताहरूले नै बेल घेर्ने, बेलमै बसेर विरोध गर्ने र पुस्तक पढ्दै प्रतिरोध जनाउने गरेको स्मरण गराए। ‘आफ्नो पालामा गरिएका गतिविधि मर्यादित र अरूले जबाफदेहिता खोज्दा अमर्यादित भन्ने प्रवृत्ति स्वीकार्य हुँदैन,’ उनले भने।
राईले नेपाली कांग्रेसले विगतका त्यस्ता गतिविधिलाई पनि सही नठानेको स्पष्ट पार्दै अहिलेको अवस्था सिर्जना हुनुमा सरकारकै भूमिका रहेको बताए। प्रधानमन्त्री र सरकार संसद्को आलोचना सुन्नै नचाहने अवस्थामा पुगेको उनको आरोप थियो।
उनले ‘क्रमभंगता’को नाममा सरकारले संसदीय परम्परा र अभ्यासलाई कमजोर बनाउने प्रयास गरिरहेको दाबी गरे। सरकार व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीनै अंगमा हस्तक्षेपकारी शैलीमा अघि बढेको भन्दै राईले सत्तापक्ष सरकारका कमजोरी ढाकछोप गर्न लागिरहेको टिप्पणी गरे।
दुई–तिहाइ बहुमतको आडमा सरकारले संसदीय अभ्यासलाई चुनौती दिइरहेको उल्लेख गर्दै उनले संसद्को मर्यादा जोगिन सत्ता पक्ष जिम्मेवार बन्नुपर्ने बताए। ‘अंकको बलमा संसदीय अभ्यास दबाउने प्रयास भइरहँदासम्म सदन मर्यादित बन्न सक्दैन,’ उनले भने।
सभामुख अर्याललाई सदनको अभिभावकको भूमिकामा सक्रिय हुन आग्रह गर्दै राईले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराएर जवाफदेही बनाउन रुलिङ गर्नुपर्ने माग पनि गरे। ‘सदनको गरिमा जोगिनु सभामुखको प्रतिष्ठासँग जोडिएको विषय हो,’ उनले बताए।
प्रकाशित मिति: ७ जेष्ठ २०८३, बिहिबार













प्रतिक्रिया