दाङ। तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ओएमएन सर्वेक्षण नहुँदा सञ्चालनमा ठूलो समस्या भएको छ ।
विसं २०६३ मा ५० शय्याको स्वीकृति पाएको यो अस्पताल हाल १४१ शय्याबाट सञ्चालन हुँदै आएको छ ।
बिरामीको अत्यधिक चापलाई मध्यनजर गर्दै अस्पताललाई २०० शय्याको बनाउने योजना अनुसार विसं २०८० मा प्रदेश सरकारमा ओएमएन सर्वेक्षण पेश गरिएको थियो ।
तर चार वर्षसम्म कुनै प्रगति नभएर उक्त सर्वेक्षण फिर्ता आएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेले बिरामीको चाप थेग्न मुस्किल भएको बताए ।
“दुई सय शय्या बनाउने सर्वेक्षणमा ५१५ जना चिकित्सक तथा कर्मचारीको दरबन्दी प्रस्ताव गरिएको थियो,” उनले भने, “तर हाल जम्मा ७४ जनाको मात्र दरबन्दी छ ।”
अस्पताललाई रेफरल सेन्टरको रूपमा विकास गर्न खोजिए पनि ओएमएन पास नहुँदा जनशक्ति अभाव र सेवा विस्तारमा ठूलो बाधा पुगेको छ ।
नयाँ अध्यक्ष लामिछानेले जनशक्ति समस्या समाधान गर्न पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।
प्रकाशित मिति: ७ जेष्ठ २०८३, बिहिबार













प्रतिक्रिया