काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले बाँदर आतंकजस्तो जटिल समस्या संसद्मा चर्को आवाज उठाएर मात्रै समाधान नहुने बताएका छन्। उनले यसको दीर्घकालीन समाधानका लागि वैज्ञानिक अनुसन्धान र प्रविधि विकासमा लगानी आवश्यक रहेको धारणा राखे।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै पुनले आफूले सात वर्षअघि नै बाँदर आतंक नियन्त्रणका विषयमा पहल थालेको स्मरण गरे। राष्ट्रिय आविष्कार केन्द्रमार्फत यस सम्बन्धी अनुसन्धानका लागि ५० देखि ६० लाख रुपैयाँसम्म खर्च गरेर प्रयास गरिएको भए पनि उल्लेखनीय सफलता हासिल हुन नसकेको उनले बताए।

advertisement

उनका अनुसार स्थानीय तहहरूलाई समेत अनुसन्धानमा सहभागी गराउने उद्देश्यले प्रत्येक गाउँपालिकाबाट रकम संकलन गरेर बाँदर नियन्त्रणसम्बन्धी अध्ययन अघि बढाउन प्रस्ताव गरिएको थियो। तर अपेक्षित सहयोग र परिणाम प्राप्त हुन नसकेको उनको भनाइ थियो।

‘संसद्मा कराएर मात्र यो समस्या हल हुँदैन,’ पुनले भने, ‘यसका लागि गम्भीर अनुसन्धान, परीक्षण र प्रविधि विकास आवश्यक छ।’

उनले विश्वभर खोज्दा पनि बाँदर आतंक नियन्त्रण गर्ने भरपर्दो प्रविधि अझै विकास हुन नसकेको उल्लेख गरे। ‘रकेट बनाउने प्रविधि संसारसँग छ, तर बाँदर भगाउने प्रभावकारी उपाय अझै बनेको छैन,’ उनले भने।

सांसद पुनले सरकारले यस विषयलाई सामान्य रूपमा नलिएर अनुसन्धान र नवप्रवर्तनमा पर्याप्त बजेट छुट्याउनुपर्नेमा जोड दिए। उनका अनुसार किसान र ग्रामीण समुदायले भोगिरहेको बाँदर आतंक समाधान गर्न वैज्ञानिक ढंगबाट काम अघि बढाउन जरुरी छ।

प्रकाशित मिति: ७ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com