काठमाडौं। अन्तर्राष्ट्रिय उडानका क्रममा विमानभित्र तातो कफी पोखिँदा गम्भीर घाइते भएकी नेपाली महिला यात्रुको पक्षमा उपभोक्ता अदालतले ऐतिहासिक फैसला सुनाएको छ।
अदालतले कतार एयरवेजलाई पीडित प्रिती थापालाई २ करोड ६१ लाख ९२ हजार ४०६ रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको हो।
काठमाडौंस्थित उपभोक्ता अदालतका अध्यक्ष दिवाकर भट्टसहित सदस्य गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले बिहीबार उक्त फैसला सुनाएको हो।
नेपालमा उपभोक्ता अदालत स्थापना भएयता कुनै अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीविरुद्ध भएको यो सम्भवतः सबैभन्दा ठूलो क्षतिपूर्ति फैसला मानिएको छ।
यो घटना सन् २०२३ जुलाई १० मा भएको थियो। ललितपुरको झम्सिखेल निवासी प्रिती थापा अमेरिकाको बोस्टनबाट दोहा हुँदै काठमाडौं फर्किंदै थिइन्।
उनी कतार एयरवेजको क्युआर–७४४ नम्बरको उडानमार्फत नेपाल आउँदै गर्दा दुर्घटनामा परेकी थिइन्।
उडानका क्रममा विमानको ३५–ए नम्बर सिटमा बसेकी थापालाई चालक दलका सदस्यले अत्यधिक तातो कफी दिएका थिए।
कफी दिने क्रममा भएको असावधानीका कारण उम्लिरहेको कफी अचानक उनको पेट, तिघ्रा तथा शरीरका अन्य संवेदनशील भागमा पोखिएको थियो।
घटनापछि विमानभित्रै उनी असह्य पीडामा परेकी थिइन्।
त्यसपछि चालक दललाई जानकारी गराइएको थियो र विमान कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनासाथ उनलाई आकस्मिक उपचार केन्द्रमा लगिएको थियो।
चिकित्सकहरूले प्रारम्भिक परीक्षणमै उनलाई दोस्रो तहको जलन भएको पुष्टि गरेका थिए।
कतारमा प्राथमिक उपचारपछि नेपाल फर्किएकी थापाले कीर्तिपुर अस्पतालको जलन उपचार कक्षमा लामो समय उपचार गराउनुपरेको थियो।
उनले शारीरिक पीडासँगै मानसिक तनाव र आर्थिक क्षति पनि भोग्नुपरेको बताएकी थिइन्।
घटनापछि थापाले उपचार खर्च, आम्दानीमा पुगेको क्षति तथा मानसिक आघातको क्षतिपूर्ति माग गर्दै सुरुमा कतार एयरवेज व्यवस्थापनसँग आग्रह गरेकी थिइन्।
तर कम्पनीले थापाले आफैं कफी समात्ने क्रममा खसालेको दाबी गर्दै कुनै क्षतिपूर्ति दिन अस्वीकार गरेको थियो।
त्यसपछि उनी कानुनी उपचारका लागि उपभोक्ता अदालत पुगेकी थिइन्।
थापाले अदालतमा २० लाख अमेरिकी डलर बराबरको क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेकी थिइन्।
सुनुवाइका क्रममा एयरवेज पक्षले आफ्नो गल्ती नभएको दाबी गरे पनि अदालतले यात्रुको सुरक्षामा गम्भीर लापरवाही भएको ठहर गरेको हो।
अदालतले उडिरहेको विमानभित्र अत्यधिक तातो तरल पदार्थ सेवा गर्दा आवश्यक सावधानी नअपनाइएको निष्कर्ष निकालेको छ।
अदालतका अनुसार सेवा प्रदायक कम्पनीले यात्रुको सुरक्षा र गुणस्तरीय सेवामा गम्भीर कमजोरी देखाएको प्रमाणित भएको हो।
फैसलामा अन्तर्राष्ट्रिय हवाई यातायातसम्बन्धी मोन्ट्रियल महासन्धि–१९९९ र नेपालको उपभोक्ता संरक्षण ऐन–२०७५ लाई आधार बनाइएको छ।
अदालतले मोन्ट्रियल महासन्धिअन्तर्गत २ करोड ४१ लाख ९२ हजार ४०६ रुपैयाँ तथा मानसिक पीडा र सेवामा कमीबापत थप २० लाख रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको हो।
कानुन व्यवसायीहरूका अनुसार यो निर्णयले अन्तर्राष्ट्रिय उडानमा यात्रुको सुरक्षाप्रति विमान सेवा कम्पनीको पूर्ण जिम्मेवारी रहने सिद्धान्तलाई नेपालमा बलियो रूपमा स्थापित गरेको छ।
साथै यस फैसलाले नेपाली उपभोक्ताको अधिकार र हवाई यात्रुको सुरक्षाका क्षेत्रमा महत्वपूर्ण नजिर पनि कायम गरेको उनीहरूको भनाइ छ।
यद्यपि, कतार एयरवेजलाई उक्त फैसलाविरुद्ध पाटन उच्च अदालतमा पुनरावेदन गर्ने कानुनी अधिकार भने अझै खुला रहेको छ।
प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया