काठमाडौं। जेन्जी आन्दोलनसँग सम्बन्धित मानवअधिकार उल्लंघनका घटनाबारे प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेन्जि अभियान्ताहरूको टोली शुक्रबार बिहान राष्ट्रिय मानव अधिकार आयोग पुगेको छ।
आयोगमा भएको छलफलका क्रममा आयोगका पदाधिकारीहरूले १८ गतेभित्र प्रतिवेदन सार्वजनिक गर्ने, अन्यथा राजीनामा दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
जेन्जी अभियान्ताहरूका अनुसार बिहान करिब ११ बजे आयोग पुगेर उनीहरूले आयोगकी आयुक्त डा. लिलि थापा सँग प्रारम्भिक वार्ता गरेका थिए।
वार्ताका क्रममा जेनजीहरुले आयोगले प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ गरेको भन्दै तत्काल सार्वजनिक गर्न आग्रह गरेका थिए।
जवाफमा आयुक्त थापाले ‘एक हप्ताभित्र आयोगले प्रतिवेदन सार्वजनिक नगरे आफू पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने’ बताएकी थिइन्।
त्यसपछि प्रमुख आयुक्त तपबहादुर मगर, आयुक्त मिहिर ठाकुर लगायतसँग भएको छलफलमा जेनजी अभियान्ताहरूले ‘प्रतिवेदन सार्वजनिक गर्न नसक्ने भए जिम्मेवारीबाट राजीनामा दिनुपर्छ’ भन्ने अडान राखेका थिए।
छलफलपछि आयोगका पदाधिकारीहरूले ‘१८ गतेभित्र प्रतिवेदन सार्वजनिक गरेर सरकारलाई सिफारिस पठाउने, नसके राजीनामा दिने’ प्रतिबद्धता व्यक्त गरेको अभियान्ताहरूले बताएका छन्।
अभियान्ताहरूले नागरिकमाथि मानवअधिकार उल्लंघन हुँदा आयोग मौन बस्न नहुने भन्दै भदौ २३, २४, २५ र २६ गते भएका घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा नागरिकको मानवअधिकार सुनिश्चित गर्न आयोगले प्रभावकारी भूमिका खेल्नुपर्ने माग गरेका छन्।
वार्ताका क्रममा प्रमुख आयुक्त मगरले ‘मेरो कुर्सीमा तपाईं बस्नुस’ भन्ने अभिव्यक्ति दिएपछि सो विषयलाई लिएर आयोगका पदाधिकारी र जेनजीहरुबीच लामो समय चर्काचर्की तथा नोकझोंकसमेत भएको जेनजीहरुले बताएका छन्।
जेन्जी अभियान्ता सुनिल सिंह, अजय सोडारी, जनम सिंह र धिरज बानिया लगायतको टोली बिहानदेखि आयोग परिसरमा धर्ना र वार्तामा सक्रिय भईरहेका छन्।
प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार












प्रतिक्रिया