काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले सुकुम्वासी बस्ती व्यवस्थापनसम्बन्धी विषयमा पार्टीको औपचारिक धारणा स्पष्ट गर्नुपर्ने भन्दै सभापति रवि लामिछानेलाई प्रश्न गरेकी छन्।

शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा कोसी प्रदेशका सांसदहरूसँग भएको छलफलका क्रममा उनले सुकुम्वासी बस्ती व्यवस्थापनका नाममा स्थानीय तहहरूले मनपरी निर्णय गरिरहेको भन्दै पार्टीको स्पष्ट नीति आवश्यक रहेको बताएकी हुन्।

advertisement

सांसद राना मगरले हाल स्थानीय तहहरूले सुकुम्वासी व्यवस्थापनका नाममा लालपुर्जा भएका नागरिकलाई समेत उठ्न निर्देशन दिने, कर तिरेका बासिन्दालाई समेत प्रभावित पार्ने तथा मनोमानी रूपमा सूचना जारी गर्ने काम भइरहेकोमा आपत्ति जनाइन्।

उनले काठमाडौंमा हालै गरिएको सुकुम्वासी बस्ती हटाउने अभियानलाई आधार बनाएर झापालगायतका जिल्लामा पनि स्थानीय तहहरूले धमाधम बस्ती खाली गर्न सूचना जारी गर्नु उचित नभएको बताइन्।

राना मगरका अनुसार सुकुम्वासी व्यवस्थापनका नाममा कानुनी प्रक्रिया नअपनाई नागरिकलाई विस्थापित गर्ने प्रवृत्ति बढ्दै गएको छ, जसले जनताको अधिकारमा प्रत्यक्ष असर पारिरहेको छ। उनले नदी किनार संरक्षण आवश्यक भए पनि कानुनी प्रक्रिया पालना गर्नुपर्नेमा जोड दिइन्।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीभित्र यस विषयमा स्पष्ट नीति आवश्यक रहेको दोहोर्याइन्। सुकुम्वासी व्यवस्थापनका विषयमा पार्टीको औपचारिक धारणा के हो भन्नेबारे सभापति लामिछानेसँग छलफल भएको उनले बताइन्।

रास्वपाकी सांसद रानाले सरकारले देशभर एउटै निर्णयलाई आधार बनाएर फरक–फरक स्थानीय तहले मनपरी रूपमा कार्यान्वयन गर्दा समस्या झनै जटिल बन्दै गएको टिप्पणी पनि गरिन्।

प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com