काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदका लागि हुने निर्वाचनमा प्रतिस्पर्धा थप चर्किएको छ । आगामी शुक्रबारका लागि तय गरिएको निर्वाचनमा दुवै पदमा दुई–दुई जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।
वरिष्ठ उपाध्यक्ष पदका लागि रामचन्द्र संघई र सुरकृष्ण वैद्यबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि सो पदमा निवर्तमान उपाध्यक्ष हेमराज ढकालले पनि उम्मेदवारी दिएका थिए । तर, उनले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिँदै संघईलाई समर्थन गर्ने निर्णय गरेका छन् ।
महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ समूहका तर्फबाट सुरकृष्ण वैद्य उम्मेदवार बनेका छन् भने ढकालसहितको समूहले रामचन्द्र संघईलाई समर्थन गर्ने निर्णय गरेपछि निर्वाचन समीकरण थप रोचक बनेको छ ।
यस्तै, कोषाध्यक्ष पदमा पनि प्रतिस्पर्धा देखिएको छ । अञ्जन श्रेष्ठ समूहका तर्फबाट मनिषलाल प्रधान उम्मेदवार छन् भने अर्को समूहबाट अम्बिकाप्रसाद पौडेल प्रतिस्पर्धामा छन् ।
समूहगत समर्थन र अन्तिम समयमा बनेका गठबन्धनका कारण महासङ्घको निर्वाचन यसपटक निकै प्रतिस्पर्धात्मक हुने देखिएको छ ।
प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया