काठमाडौं। नेपाल प्रहरीले गत वैशाख महिनामा देशका विभिन्न स्थानबाट विभिन्न मुद्दामा फरार रहेका २ हजार ३१९ जना प्रतिवादीलाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नियमित गस्ती तथा विशेष अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ परेकामध्ये केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट १२, काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ३६६, कोशी प्रदेशबाट ३२६, मधेस प्रदेशबाट ७३०, बागमतीबाट १९९, गण्डकीबाट २०४, लुम्बिनीबाट ३३०, कर्णालीबाट ६८ र सुदूरपश्चिम प्रदेशबाट ८४ जना रहेका छन्।
प्रहरीका अनुसार उक्त अवधिमा पक्राउ परेका प्रतिवादीविरुद्ध अदालतबाट तोकिएको ८२५ वर्ष २ महिना २५ दिन कैद सजाय कार्यान्वयन गरिएको छ। त्यस्तै उनीहरूबाट २१ करोड ५३ लाख ६९ हजार ११० रुपैयाँ जरिवाना असुलउपर गरिएको प्रहरीले जनाएको छ।
कर्तव्य ज्यान, लागुऔषध कारोबार, जबर्जस्ती करणी, बैंकिङ कसुर, ठगीलगायत विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका व्यक्तिहरूलाई लक्षित गरी प्रहरीले विशेष अभियान सञ्चालन गर्दै आएको छ।
प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानलाई आगामी दिनमा अझ तीव्र बनाइने जनाएको छ।
प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया