काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनसम्बन्धी तयार पारेको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
शुक्रबार सुनसरीको लौकहीमा आयोजित ‘प्रदेश तथा स्थानीय तह स्तरीय भेला’ लाई सम्बोधन गर्दै उनले २३ र २४ भदौमा भएका घटनाबारे आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने आवश्यकता औँल्याए ।
थापाले सरकारप्रति प्रश्न गर्दै भने, ‘राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कहाँ छ ? सरकारलाई त्यो प्रतिवेदन सार्वजनिक गर्नैपर्छ ।’
उनले २४ भदौमा भएका घटनाका दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा पनि जोड दिए । उनका अनुसार योजनाबद्ध रूपमा भएका कुनै पनि घटनामा संलग्न व्यक्तिहरूलाई कानुनको कठघरामा उभ्याउन ढिलाइ गर्नु हुँदैन ।
सभापति थापाले सरकारले निर्धारित सय दिनभित्र गर्ने कामहरूको स्पष्ट सूचीअनुसार काम गर्नुपर्ने उल्लेख गर्दै मनलाग्दी ढंगले निर्णय अघि बढाउन नहुने बताए । ‘मन लागेका काम सय दिनमै गर्ने, नपरेका काम हजार दिनसम्म थाँती राख्ने सुविधा हुँदैन,’ उनले भने ।
त्यसैगरी उनले संविधानविपरीत जाने कुनै पनि कदमप्रति नेपाली कांग्रेस दृढ रूपमा उभिने चेतावनी दिए । उनले भने, ‘संख्याको बल देखाएर संविधानभन्दा बाहिर जाने प्रयास भयो भने कांग्रेस त्यसको प्रतिरोधमा उभिन्छ ।’
प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया