काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले सुकुमवासी बस्ती व्यवस्थापनका विषयमा पार्टीको स्पष्ट र औपचारिक धारणा आउनुपर्ने बताएकी छन् ।

शुक्रबार सिंहदरबारमा पार्टी सभापति रवि लामिछानेले कोशी प्रदेशका सांसदहरूसँग गरेको छलफलमा सहभागी हुँदै उनले सुकुमवासी बस्ती हटाउने तथा व्यवस्थापनसम्बन्धी सरकारी कदमबारे पार्टीको ठोस नीति स्पष्ट हुनुपर्ने आवश्यकता औँल्याइन् ।

advertisement

सांसद इन्दिरा राना मगरले भनिन्, ‘प्रदेशगत समस्याबारे सभापतिसँग छलफल भयो। सुकुमवासी बस्ती व्यवस्थापनका विषयमा हाम्रो पार्टीको धारणा के हो भन्ने कुरा मैले स्पष्ट रूपमा आउनुपर्छ भनेर राखेँ।’

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्थानीय तहहरूले सुकुमवासी व्यवस्थापनको नाममा मनोमानी ढंगले निर्णय गरिरहेको भन्दै पार्टीको आधिकारिक धारणा आवश्यक रहेको बताइन् ।

उनका अनुसार केही स्थानीय तहहरूले केन्द्र सरकारको निर्देशन भन्दै बस्ती खाली गराउने सूचना जारी गरिरहेका छन्, जसप्रति उनले आपत्ति जनाइन् । उनले भनिन्, ‘लालपुर्जा भएका नागरिकलाई समेत घर छाड्न सूचना दिइएको छ, उनीहरूले कर तिरिरहेका छन्। कतिपय ठाउँमा जग्गाभन्दा बढी कर उठाइएको पनि सुनिन्छ।’

सांसद राना मगरले नदी किनार संरक्षण आवश्यक भए पनि कानुन विपरीत भूमिमा बसोबास गर्नु गलत भएको उल्लेख गरिन् । तर, व्यवस्थित समाधान बिना बस्ती हटाउने नाममा नागरिकलाई अन्याय हुन नहुनेमा उनले जोड दिइन् ।

प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com