उर्लाबारी। हर्क साम्पाङले मुलुकको समृद्धि र विकासका लागि श्रमलाई राष्ट्रिय संस्कृति का रूपमा स्थापित गर्नुपर्ने बताएका छन्।
उनले भाषण, आश्वासन र राजनीतिक गफले देश नबन्ने भन्दै उत्पादनशील श्रममार्फत आत्मनिर्भर राष्ट्र निर्माण गर्न सकिने धारणा व्यक्त गरे।
मोरङको उर्लाबारीमा शुक्रबार आयोजित स्थानीय नागरिक, पार्टी कार्यकर्ता तथा श्रमदातासँगको भेटघाट कार्यक्रममा बोल्दै साम्पाङले नेपालमा श्रमप्रतिको सम्मान कमजोर हुँदा विकासको गति सुस्त बनेको बताए।
उनले काम गर्ने मानिसलाई हेप्ने र भाषण गर्ने व्यक्तिलाई सम्मान गर्ने प्रवृत्ति समाजमा गहिरो रूपमा बसेको उल्लेख गर्दै यही मानसिकताले देशको प्रगति अवरुद्ध भएको टिप्पणी गरे।
साम्पाङले भने, “देश नबन्नुको मुख्य कारण कामको अभाव होइन, कामप्रतिको दृष्टिकोण हो।
हामीकहाँ श्रम गर्ने मानिसलाई तल्लो दृष्टिले हेर्ने र काम नगरी भाषण गर्ने मानिसलाई माथि राख्ने प्रवृत्ति छ।
यो संस्कार परिवर्तन नगरेसम्म देशले गति लिन सक्दैन।”
उनले नेपालका अधिकांश राजनीतिक दल विकासका नाममा भाषण र आश्वासन वितरणमै सीमित भएको आरोप पनि लगाए।
व्यवहारमा कामभन्दा बढी प्रचारमुखी राजनीति हाबी भएकाले जनतामा निराशा बढ्दै गएको उनको भनाइ थियो।
साम्पाङले श्रम, उत्पादन र आत्मनिर्भरतालाई केन्द्रमा राखेर नयाँ राजनीतिक संस्कृतिको आवश्यकता रहेको उल्लेख गर्दै युवालाई श्रमसँग जोडिन आग्रह गरे।
प्रकाशित मिति: ८ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया