काठमाडौं । अमेरिकाले आफ्नो आप्रवासन नीतिमा महत्वपूर्ण परिवर्तन गर्दै अब अधिकांश ग्रीन कार्ड (स्थायी बसोबास अनुमति) आवेदकहरूले अमेरिका भित्र बसेर आवेदन दिन नपाउने भएका छन्। उनीहरूले आफ्नो देशबाटै प्रक्रिया पूरा गर्नुपर्नेछ।
अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (USCIS) ले शुक्रबार घोषणा गरेको नयाँ नियम अनुसार अब असाधारण अवस्था बाहेक अन्य सबै अवस्थामा अमेरिकाभित्र बसेर स्टाटस परिवर्तन गरी ग्रीन कार्ड लिन पाइने छैन। यसका लागि आवेदकहरूले आफ्नो देशस्थित अमेरिकी दूतावास वा कन्सुलर कार्यालयमार्फत कन्सुलर प्रक्रिया पूरा गर्नुपर्नेछ।
अधिकारीहरूका अनुसार यो कदम अस्थायी भिसामा अमेरिका प्रवेश गरी पछि त्यहीँ बसेर ग्रीन कार्ड आवेदन दिने अभ्यासलाई नियन्त्रण गर्न ल्याइएको हो।
USCIS का प्रवक्ताले भनेका छन् कि अस्थायी भिसामा अमेरिका आउनेलाई स्वतः स्थायी बसोबासको बाटो बनाइनु हुँदैन।
तर, आप्रवासन विज्ञ र अधिकारकर्मीहरूले भने यो निर्णयको आलोचना गरेका छन्। उनीहरूका अनुसार यसले धेरै परिवार र रोजगारदाताहरूमा अनिश्चितता बढाउनेछ र आवेदन प्रक्रियालाई झन् जटिल बनाउनेछ। साथै, आवेदन प्रक्रियाका क्रममा परिवार छुट्टिन सक्ने जोखिम पनि रहने उनीहरूको भनाइ छ।
प्रकाशित मिति: ९ जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया