काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्टले भीआईपीहरूको उपचार खर्चबापत राज्यकोषबाट भएको खर्च अहिले पार्टी कोषबाट फिर्ता गरिएको विषयमा अध्यक्ष केपी शर्मा ओलीसँग जवाफ माग गरेका छन् ।
शुक्रबार गुण्डूमा बसेको पार्टी सचिवालय बैठकमा विष्टले यो विषय उठाउँदै विगतमा कानुनविपरीत भएको खर्चको भार पार्टीमाथि पार्न नहुने बताएका थिए ।
“नेतृत्वले गल्ती गरेको छ भने आफैँले बेहोर्नुपर्छ, पार्टीको ढाडमा बोझ हाल्नुहुँदैन,” उनको भनाइ थियो ।
बैठकमा विष्टले प्रश्न उठाए पनि अध्यक्ष ओलीले कुनै जवाफ दिएनन् ।
तत्कालीन प्रधानमन्त्री ओलीको पालामा जनस्वास्थ्य ऐन २०७५ विपरीत भीआईपी उपचार खर्च भन्दै ३ करोड ९० लाख रुपैयाँ राज्यकोषबाट निकासा भएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि एमालेले राष्ट्रिय वाणिज्य बैंकबाट ३ करोड ६७ लाख रुपैयाँ सरकारको खातामा फिर्ता गरेको थियो ।
प्रकाशित मिति: ९ जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया