बागमती। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि गृहकार्य भइरहेको बताएकी छन् ।

हेटौँडास्थित औद्योगिक क्षेत्रको आज स्थलगत निरीक्षण गर्दै मन्त्री यादवले रुग्ण अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालनमा आएमा मुलुकको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने बताइन् ।

advertisement

उनले छिट्टै यो उद्योग सञ्चालनको कामलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरिन् ।

मुलुकको आर्थिक अवस्थालाई सुदृढ बनाउन र रोजगारीको वातावरण सिर्जना गर्न सरकारले रुग्ण उद्योगहरूलाई सञ्चालनमा ल्याउने नीति लिएको उल्लेख गर्दै मन्त्री यादवले आगामी आर्थिक वर्षको बजेटमा रुग्ण कपडा उद्योग सञ्चालनका लागि बजेट विनियोजन गरिने बताइन् ।

बन्द उद्योगहरू सञ्चालनमा आएपछि रोजगारीका अवसरहरू सिर्जना हुने उनको भनाइ छ ।

मन्त्री यादवले हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयसँगै रुग्ण अवस्थामा रहेको हेटौँडा कपडा उद्योगको समेत निरीक्षण गरेकी थिइन् ।

सो अवसरमा हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयकी प्रमुख संगिता कुँवरले औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूको वर्तमान अवस्थाबारे मन्त्री यादवलाई जानकारी गराइन् ।

अमेरिकी सरकारको आर्थिक सहयोगमा विसं २०२० मङ्सिर २० गते स्थापना भएको हेटौँडा औद्योगिक क्षेत्रमा हाल १४७ उद्योग तथा प्रतिष्ठान सञ्चालनमा छन् ।

कुल तीन हजार २२८ रोपनी क्षेत्रफलमा फैलिएको यस औद्योगिक क्षेत्रमा खाद्य उद्योग, युनाइटेड ब्रुअरी (पेय पदार्थ), गोर्खा ब्रुअरी कम्पनी, एसियन पेन्ट्स, पशु आहारा दाना उद्योग, कार्टुन उद्योगलगायत प्रमुख उद्योगहरू सञ्चालनमा रहेका छन् ।

मयुरधाप औद्योगिक क्षेत्रको जग्गा विवाद सुल्झाएर तत्काल सञ्चालनमा ल्याइने

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ मा प्रस्तावित मयुरधाप औद्योगिक क्षेत्रको जग्गा सम्बन्धी विवादलाई तत्काल सुल्झाएर निर्माण कार्य अगाडि बढाइने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले मयुरधाप औद्योगिक क्षेत्रको स्थलगत अवलोकन तथा निरीक्षण गर्दै उक्त प्रतिबद्धता जनाएकी हुन् ।

लामो समयदेखि चर्चामा रहे पनि मयुरधाप औद्योगिक क्षेत्रको जग्गा अझै खाली नै रहेको छ ।

मध्यवर्ती वन क्षेत्रभित्र परेका कारण कानुनी तथा व्यावहारिक अड्चनका कारण उक्त औद्योगिक क्षेत्रको निर्माण कार्य अघि बढ्न सकेको थिएन ।

मन्त्री यादवले यो विवाद समाधान गरेर छिट्टै निर्माण कार्य सुरु गर्ने बताएकी छन् ।

प्रकाशित मिति: ९ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com