काठमाडौं। हास्य कलाकार तथा अभिनेता जितु नेपाल यतिबेला आफ्नो नयाँ चलचित्रको प्रचारमा अत्यन्तै व्यस्त छन् । तैपनि उनी एउटा अर्को नयाँ अभियानमा पनि लागेका छन् ।
उनको आगामी चलचित्र ‘आई एम जित बहादुर’ ले दर्शकहरूको ध्यान तानिरहेको छ भने अर्कोतिर उनले नेपाली रंगमञ्च क्षेत्रलाई पनि साथ दिँदै छन् ।
निर्देशक सुवेन्दु घोषको निर्देशनमा तयार भएको चलचित्र ‘आई एम जितबहादुर’ आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ ।
एउटा युवाको सपना, कठिन संघर्ष र सफलताको यात्रालाई मार्मिक ढंगले प्रस्तुत गर्ने यो चलचित्रमा जितु नेपालको साथमा वर्षा राउत, प्रियंका कार्की र सन्दीप क्षेत्री जस्ता कलाकारहरूको मुख्य भूमिका छ ।
जितु नेपालले यो चलचित्रलाई कथा मात्र नभई सपना देख्ने र त्यसलाई पूरा गर्न रगत पसिना बगाइरहेका हरेक नेपाली युवाको कथा भएको बताएका छन् ।
उनले भनेका छन्, “हरेक नेपालीले यो चलचित्रभित्र कतै न कतै आफूलाई भेट्नुहुनेछ। अझ रंगमञ्चमा संघर्ष गरिरहेका कलाकार तथा नाटककर्मीहरूले यसमा आफ्नो जीवनका धेरै पाटा देख्नुहुनेछ।”
चलचित्रको व्यस्त तयारी र प्रचारका बाबजुद जितु नेपालले नेपाली रंगमञ्चलाई पनि साथ दिने जमर्को गरेका छन् ।
उनले पहिलोपटक रंगमञ्चीय प्रस्तुतिमा सहकार्य गर्न लागेका हुन् ।
‘लाहुरी भैँसी’ लाई जितुको प्रायोजन
जितु नेपालले मण्डला थिएटरमा मञ्चन हुन लागेको नाटक ‘लाहुरी भैँसी’ लाई प्रायोजन गरेका छन् ।
वरिष्ठ साहित्यकार रमेश विकलको चर्चित कथामा आधारित यस नाटकलाई संयोग गुरागाईंले नाट्य रूपान्तरण गरेका छन् भने अनुप न्यौपानेले निर्देशन गरेका छन् ।
नाटक आगामी जेठ २२ गतेदेखि असार ७ गतेसम्म मञ्चन हुनेछ ।
जितु नेपालले चलचित्र र रंगमञ्च फरक माध्यम भए पनि दुवैले समाजका कथा भन्ने भएको भन्दै कलाकारहरूबीच सहकार्य र एकताको आवश्यकता रहेको बताएका छन् ।
उनको यो कदमलाई नेपाली कला क्षेत्रमा चलचित्र र रंगमञ्चबीचको सकारात्मक र उदाहरणीय सहकार्यको रूपमा हेरिएको छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया