नयाँ दिल्ली । भारतमा व्यङ्ग्यात्मक राजनीतिक समूहका रूपमा चर्चित ‘कक्रोच जनता पार्टी’ले आफ्नो वेबसाइट सरकारद्वारा ब्लक गरिएको दाबी गरेको छ । केही दिनअघि मात्र सुरु भएको यो समूह सामाजिक सञ्जालमा तीव्र रूपमा लोकप्रिय बनेको थियो ।
यो समूह भारतका प्रधानन्यायाधीशले बेरोजगार युवाहरूलाई ‘साङ्ला’ सँग तुलना गरेको भनिएको टिप्पणीपछि व्यङ्ग्यस्वरूप गठन गरिएको हो । पछि उनले आफ्नो भनाइ नक्कली वा झुटा डिग्री भएका व्यक्तिहरूप्रति लक्षित रहेको स्पष्ट पारेका थिए । साथै, उनले आफ्नो अभिव्यक्ति सम्पूर्ण भारतीय युवालाई लक्षित नभएको बताएका थिए ।
हाल “कक्रोच जनता पार्टी”को वेबसाइट भारतभित्र मात्र होइन, विदेशबाट समेत पहुँच नहुने अवस्थामा पुगेको बताइएको छ ।
समूहका संस्थापक अभिजित दिपकेले भारतीय अधिकारीहरूले वेबसाइट हटाएको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेख्दै ‘उनीहरू साङ्लासँग किन यति डराउँछन् ?’ भन्दै व्यङ्ग्यात्मक प्रश्न समेत गरेका छन् । उनले नयाँ वेबसाइट निर्माण भइरहेको पनि जानकारी दिएका छन् ।
त्यस्तै, समूहको आधिकारिक एक्स (ट्विटर) खाता पनि प्रतिबन्धित गरिएको छ, जसमा दुई लाखभन्दा बढी फलोअर रहेका थिए । भारतभित्र उक्त खातामा पहुँच नहुने र खोल्ने प्रयास गर्दा कानुनी कारणले रोक लगाइएको सन्देश देखिने गरिएको छ ।
दिपके अमेरिकास्थित बोस्टन विश्वविद्यालयका विद्यार्थी तथा राजनीतिक सञ्चार रणनीतिकार हुन् । उनले आफ्नो व्यक्तिगत तथा समूह दुवै इन्स्टाग्राम खाता ह्याक गरिएको दाबी पनि गरेका छन् ।
‘कक्रोच जनता पार्टी’लाई कतिपयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (बीजेपी) प्रति व्यङ्ग्यका रूपमा व्याख्या गरेका छन् । समूहले आफूलाई अल्छी तथा बेरोजगार युवाहरूको आवाजका रूपमा प्रस्तुत गर्दै आएको छ । यसको सदस्यता प्रक्रियामा समेत रमाइला शर्तहरू राखिएको बताइन्छ, जसमा निरन्तर अनलाइन सक्रिय रहनुपर्ने र व्यङ्ग्यात्मक शैलीमा अभिव्यक्ति दिन सक्ने क्षमता हुनुपर्ने उल्लेख छ ।
प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार












प्रतिक्रिया