काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देहीका विभिन्न पालिकामा धमाधम नयाँ नेतृत्व चयन गरिरहेको छ । आइतबारसम्म जिल्लाका ८ वटा स्थानीय तहमा नयाँ नेतृत्व चयन भइसकेको र बाँकी पालिकामा पनि केन्द्रले तोकेको समयसीमाभित्र अधिवेशन सम्पन्न गरिने तयारी रहेको रास्वपा रुपन्देहीका सभापति डा. बद्री शर्माले जानकारी दिए ।
उनका अनुसार चयन भएका ८ स्थानीय तहमध्ये ५ वटामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ भने ३ स्थानीय तहमा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो ।
बुटवल, गैडहवा र तिलोत्तमा नगरपालिकामा नेतृत्व चयनका लागि निर्वाचन भएको थियो भने अन्य पालिकामा सहमतिमै नेतृत्व टुङ्गिएको शर्माले रातोपाटीलाई बताए ।
निर्वाचन तथा सहमतिबाट चयन भएका नयाँ नेतृत्वअनुसार कञ्चन गाउँपालिकाको सभापतिमा प्रेमचन्द्र पोखरेल, शुद्धोधन गाउँपालिकामा बैदलाल शर्मा र सियारी गाउँपालिकामा रुद्रलाल शर्मा चयन भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी ले यस्तै बुटवल उपमहानगरपालिकाको अधिवेशनबाट राजेश्वर ९राजन० पाण्डे पुनः सभापतिमा निर्वाचित भएका छन् भने तिलोत्तमामा रुस्तम कँडेल दोहोरिएका छन् ।
त्यसैगरी सैनामैनामा लक्ष्मण पौडेल, मायादेवी गाउँपालिकामा हरि कुँवर तथा गैडहवा गाउँपालिकामा ओमप्रकाश भट्टराई सभापतिमा चयन भएका छन् ।
रुपन्देहीमा कुल १६ वटा स्थानीय तह छन् । आगामी जेठ १४ गते देवदह नगरपालिकाको तथा जेठ १६ गते सिद्धार्थनगर नगरपालिकाको अधिवेशन गर्ने योजना रहेको सभापति डा. शर्माले बताए । अन्य स्थानीय तहमा पनि चाँडै अधिवेशन आयोजना गर्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।
प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया