काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय सचिवालय बैठकमा सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम सम्पन्न भएको छ । शुक्रबार उपाध्यक्ष रामबहादुर थापा ‘बादल’बाट सुरु भएको धारणा प्रस्तुत गर्ने क्रम आइतबार सचिव तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले मन्तव्य दिएसँगै टुंगिएको हो ।

आइतबारको बैठकमा खगराज अधिकारीसहित शेरधन राई, यमलाल कँडेल र भानुभक्त ढकालले आफ्नो धारणा राखेका थिए । उनीहरूले पार्टीलाई समयानुकूल पुनर्गठन गर्दै संगठनलाई थप एकताबद्ध, सुदृढ र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

advertisement

बैठकमा अधिकांश पदाधिकारीहरूले बदलिँदो राजनीतिक परिस्थितिअनुसार नेतृत्व र संगठन दुवैमा सुधार आवश्यक रहेको धारणा राखेको स्रोतले जनाएको छ ।

सदस्यहरूको धारणा सकिएपछि बैठकमा केही समय ‘खाजा ब्रेक’ गरिएको थियो । त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले उठेका विषयमा जवाफ दिन थालेको स्रोतको भनाइ छ । अध्यक्षको जवाफपछि बैठक समापन गर्ने तयारी रहेको बताइएको छ ।

१९ सदस्यीय सचिवालय बैठकमा बहुमत सदस्यहरूले पार्टी पुनर्गठन र नेतृत्वमा पुस्तान्तरणको आवश्यकता औंल्याएका छन् । समयअनुसार पार्टीलाई नयाँ ढंगले अघि बढाउन नसके एमालेको जनविश्वास कमजोर हुन सक्ने उनीहरूको भनाइ रहेको छ ।

यद्यपि अध्यक्ष ओलीले भने नेतृत्वबाट पछि हट्ने पक्षमा आफू नरहेको संकेत गर्दै आएका छन् ।

प्रकाशित मिति: १० जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com