काठमाडौं । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित काम तीव्र गतिमा अघि बढाइएको छ।
आयोजनाले सुरुङभित्रका संरचना, पहुँच सडक तथा सुरक्षा व्यवस्थासम्बन्धी कार्यहरू समानान्तर रूपमा अघि बढाइरहेको जनाएको छ। हालसम्म सुरुङमार्गको भौतिक प्रगति करिब ६८ प्रतिशत र वित्तीय प्रगति ५८ प्रतिशत पुगेको छ। पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण भइरहेको यो आयोजना ‘इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन’ (EPC) मोडलमा सञ्चालनमा छ, जसअनुसार डिजाइन, स्वीकृति र निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीमै रहने व्यवस्था गरिएको छ।
प्रारम्भिक चरणमा कानुनी तथा प्राविधिक चुनौतीका कारण निर्माण कार्य प्रभावित भएको थियो। नेपालमा EPC मोडल नयाँ अभ्यास भएकाले आवश्यक कागजात तयारी, रुख कटान अनुमति तथा बजेट व्यवस्थापनजस्ता प्रक्रियागत समस्याले केही ढिलाइ भएको आयोजनाले जनाएको छ। हाल ती समस्या समाधानतर्फ उन्मुख रहेको र म्याद थप तथा ‘माइलस्टोन’ समायोजनसम्बन्धी प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ।
सुरुङमार्गसँगै निर्माण भइरहेको पहुँच सडकमा ‘रिजिड पेभमेन्ट’ गर्ने स्वीकृति प्राप्त भइसकेको छ। सुरुङ सञ्चालनमा आएपछि बाहिरी जोखिमयुक्त क्षेत्रमा ‘रकसेड’ तथा भिर संरक्षणका काम अघि बढाइने योजना छ। पैदलयात्रीका लागि सुरक्षित रकसेडमार्ग निर्माण गरिनेछ भने बाहिरी क्षेत्रमा खानेपानी व्यवस्थापनसम्बन्धी संरचना पनि तयार गरिनेछ।
आयोजनाको प्रारम्भिक लागत करिब १० अर्ब रुपैयाँ अनुमान गरिएको भए पनि प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियामार्फत करिब ७ अर्ब रुपैयाँमा सम्झौता भएको हो। पहिरो र भू–क्षयका दृष्टिले जोखिमयुक्त मानिने यस खण्डमा सुरक्षित यातायात सुनिश्चित गर्नु र जनधनको क्षति न्यूनीकरण गर्नु नै सुरुङमार्ग निर्माणको मुख्य उद्देश्य रहेको आयोजनाले जनाएको छ।
प्रकाशित मिति: ११ जेष्ठ २०८३, सोमबार












प्रतिक्रिया