काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आसन्न भारत भ्रमण बारे भारतीय सञ्चारमाध्यम ले उल्लेख्य चासो देखाएका छन् ।
लामिछानेको दुई दिने भारत भ्रमणको सम्भावित मिति जेठ १८ र १९ गते रहेको छ ।
भारतीय मिडियाले यो भ्रमणलाई नेपालको वर्तमान राजनीतिक परिस्थितिसँग जोडेर महत्वपूर्ण रूपमा प्रस्तुत गरेका छन् ।
भारतीय अखबार नवभारत टाइम्सले लामिछानेलाई नेपालको सबैभन्दा प्रभावशाली व्यक्तिका रूपमा उल्लेख गर्दै समाचार प्रकाशित गरेको छ ।
समाचारमा भनिएको छ, “लामिछानेको पार्टी रास्वपा अहिले सत्तामा छ र बालेन शाह प्रधानमन्त्री छन् ।
उनको दिल्ली भ्रमण यसकारण पनि विशेष छ कि रास्वपा सत्तामा आएपछि र बालेन शाह प्रधानमन्त्री बनेपछि नेपाल–भारतबीच उच्चस्तरीय भ्रमण भएको छैन ।”
नवभारत टाइम्सले लिपुलेक र व्यापारिक मुद्दामा देखिएको विवाद तथा केही अधिकारीहरूको भ्रमण रद्द भएको सन्दर्भमा लामिछानेको भ्रमणलाई काठमाडौं–दिल्ली सम्बन्ध सुधार्ने अवसरका रूपमा व्याख्या गरेको छ ।
अन्य भारतीय मिडिया अमर उजाला र हिन्दुस्तान समाचार एजेन्सीले पनि लामिछानेको भ्रमणबारे समाचार प्रकाशित गरेका छन् ।
ती समाचारमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस. जयशंकरसँग उच्चस्तरीय भेटवार्ता गर्ने सम्भावना उल्लेख गरिएको छ ।
भारतीय मिडियाले यो भ्रमणलाई नेपालको नयाँ राजनीतिक नेतृत्वसँग संवाद बढाउने अवसरका रूपमा हेरिरहेका छन् ।
विशेषगरी नयाँ सरकार गठनपछि दुई देशबीच उच्चस्तरीय सम्बन्धमा केही चिसोपन देखिएको बेला लामिछानेको भ्रमणले नयाँ गति दिन सक्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति: ११ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया