काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा रहेको अडियो र कथित घुस प्रकरणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । दूतावासले घटनाबारे निष्पक्ष, गहिरो र विश्वसनीय छानबिन गर्न नेपाल सरकारसँग आग्रह गर्दै यसलाई चीनविरुद्ध फैलाइएको भ्रामक प्रचारको संज्ञा दिएको छ ।
जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ र चिनियाँ नम्बरबाट सम्पर्क गर्ने एक व्यक्तिबीच भएको भनिएको संवाद सार्वजनिक भएपछि उक्त विषयले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको थियो । त्यसै सन्दर्भमा चिनियाँ दूतावासले आधिकारिक प्रतिक्रिया जारी गर्दै चिनियाँ नागरिकले नेपाली पत्रकारलाई कुनै राजनीतिक व्यक्तिविरुद्ध समाचार लेख्न घुस दिएको आरोप पूर्ण रूपमा असत्य रहेको दाबी गरेको हो ।
दूतावासका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा चीनले सधैं अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति अवलम्बन गर्दै आएको उल्लेख गरिएको छ । साथै, यस्ता अफवाहहरू चीनको छवि धूमिल पार्ने उद्देश्यले फैलाइएको भन्दै घटनाको वास्तविकता पत्ता लगाई दोषीमाथि कानुनी कारबाही गर्न नेपाल सरकारसँग आग्रह गरिएको छ ।
विवाद कसरी सुरु भयो ?
यो प्रकरण जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई आएको एक फोन कलपछि बाहिरिएको हो । बेइजिङबाट ‘यिङ’ नाम बताउने व्यक्तिले चिनियाँ नम्बरमार्फत श्रेष्ठलाई सम्पर्क गरी पूर्व गृहमन्त्री तथा रास्वपा सांसद सुदन गुरुङविरुद्ध नकारात्मक सामग्री प्रकाशित गर्न प्रस्ताव गरेको दाबी गरिएको छ । त्यसबापत १० लाख रुपैयाँ दिने प्रस्ताव गरिएको समाचार सार्वजनिक भएपछि विवाद चर्किएको थियो ।
श्रेष्ठले उक्त प्रस्ताव अस्वीकार गरेको बताएका छन् । तर त्यसपछि सानेपास्थित जनआस्थाको कार्यालय बाहिर एक युवतीले रक्सीको बोतल र ५० हजार रुपैयाँ नगद छाडेर गएको दाबी गरिएको छ । मास्क र कालो चस्मा लगाएकी ती युवतीले ‘ह्वाइट क्रेन’ नामक सिग्नल अकाउन्टमार्फत समन्वय गरेको बताइएको छ ।
यस घटनासँग सम्बन्धित अडियो क्लिप र मेसेजका स्क्रिनसटहरू सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रकरण थप चर्चामा आएको हो ।
किशोर श्रेष्ठको स्पष्टीकरण
जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठले भाइरल अडियोमा रहेको आवाज आफ्नै भएको स्वीकार गरेका छन् । एक अन्तर्वार्तामा उनले ‘त्यो आवाज मेरै हो’ भन्दै अडियो अस्वीकार नगर्ने बताएका हुन् ।
तर उनले सार्वजनिक अडियो तोडमोड गरिएको दाबी गरेका छन् । श्रेष्ठका अनुसार कुराकानीका केही अंश मात्र चयन गरेर भ्रामक ढंगले सार्वजनिक गरिएको हो । उनले उक्त संवादमा सुदन गुरुङ मात्र नभई शेरबहादुर देउवा र केपी शर्मा ओलीबारे पनि चर्चा भएको उल्लेख गर्दै सम्पूर्ण अडियो सार्वजनिक गर्न चुनौती दिएका छन् ।
प्रकाशित मिति: ११ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया