काठमाडौं। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईंविरुद्धको अनुसन्धान पूरा गरी प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको हो ।
पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बस्नेतका अनुसार प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर तथा राज्यविरुद्धको कसुरमा मुद्दा चलाउन राय दिइएको छ ।
प्रहरीले अनुसन्धानका क्रममा प्रसाईंले विभिन्न युट्युब च्यानलहरूमा दिएका अन्तर्वार्ता तथा सार्वजनिक मञ्चहरूमा व्यक्त गरेका अभिव्यक्तिहरूलाई मुख्य प्रमाणका रूपमा आधार बनाएको जनाएको छ ।
वीरगन्ज बजारस्थित प्रसिद्ध गहवा माई मन्दिरको दर्शन गर्न भनी पर्सा पुगेका प्रसाईंलाई प्रहरीले गत जेठ ४ गते वीरगन्जकै दियालो होटलबाट पक्राउ गरेको थियो ।
यसैबीच, प्रसाईंलाई हिरासतमा राखिएको विषयमा परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सोमबारसम्म हिरासत मुक्त गर्न आदेश दिएको छ ।
प्रहरीले प्रतिवेदन बुझाएकाले अब सरकारी वकिल कार्यालयले अध्ययन गरी अदालतमा मुद्दा दायर गर्ने वा नगर्नेबारे अन्तिम निर्णय लिनेछ ।
प्रकाशित मिति: ११ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया