काठमाडौं । काठमाडौँ महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित ग्यालेक्सी ४ के टेलिभिजनलाई आफ्ना सामानहरू लैजान र घरधनीलाई तिर्नुपर्ने बाँकी भाडा रकम बुझाउन १५ दिनको अन्तिम समय दिएको छ ।

महानगरको कानुन तथा मानव अधिकार विभागले सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयभित्र सामान नहटाइए लिलाम प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ ।

advertisement

काठमाडौँ महानगरपालिका वडा नं. ३ का घरधनी मृगेन्द्रप्रसाद मिश्रले जीबी राई अध्यक्ष रहेको गोरखा मिडिया नेटवर्कविरुद्ध घर खाली गराइदिन र भाडा असुल गराइदिन माग गर्दै मुद्दा दायर गरेका थिए । सो मुद्दामा महानगरको न्यायिक समितिले २०८१ कात्तिक १४ गते घर खाली गराउने र बाँकी भाडा तथा कर तिर्नुपर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय कार्यान्वयन नभएपछि उच्च अदालत पाटनले २०८२ साउन २८ गते दुई महिनाभित्र निर्णय कार्यान्वयन गर्न परमादेश जारी गरेको थियो । त्यसपछि महानगरको टोलीले २०८२ कात्तिक १४ गते घर खाली गराएको थियो ।

घर खाली गराएको करिब ६ महिना बितिसक्दा पनि ग्यालेक्सी चार के टेलिभिजनका सामग्रीहरू अझै सोही स्थानमै रहेका छन् । घरधनी मृगेन्द्र मिश्रले ती सामान लिलाम गरिदिन माग गर्दै महानगरमा निवेदन दिएका थिए ।

सोही निवेदनका आधारमा महानगरले १५ दिने सार्वजनिक सूचना जारी गरेको हो । सूचनामा तोकिएको अवधिभित्र बाँकी भाडा बुझाएर सामान नलगेमा प्रचलित कानुनअनुसार ती सामग्री लिलाम गरिने उल्लेख छ ।

सहकारी ठगी प्रकरणमा मुछिएका जीबी राई हाल फरार रहेका छन् भने ग्यालेक्सी ४ के टेलिभिजन हाल बन्द अवस्थामा रहेको छ ।

प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com