काठमाडौँ । काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलमा सर्वसाधारण तथा पर्यटकलाई दुःख हैरानी दिने र सम्झाउन खोज्दा ड्युटीमा खटिएका प्रहरीमाथि नै हातपात तथा गालीगलौज गर्ने युगाण्डाका पाँच जना नागरिक पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत जेठ ९ गते काठमाडौँ महानगरपालिका–२६ स्थित ठमेल एरियाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
ठमेलको सडकमा हिँड्ने स्वदेशी तथा विदेशी पर्यटक तथा सर्वसाधारणलाई अनावश्यक रूपमा बाटो छेक्ने, अश्लील गतिविधिसम्बन्धी मोलमोलाई गर्ने र दुःख हैरानी दिने कार्यमा संलग्न भएपछि प्रहरीले रोक्न खोजेको थियो। प्रहरीले सम्झाउने प्रयास गर्दा उनीहरूले उल्टै ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अपशब्द प्रयोग गरी गालीगलौज तथा धक्कामुक्का गरेका थिए।
प्रहरीको काममा अवरोध पुर्याउने र अभद्र व्यवहार गर्ने कार्यपछि लैनचौर प्रहरी टोलीले युगाण्डाका पाँचै जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूमाथि हाल हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिएका छन्।
प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार












प्रतिक्रिया