काठमाडौं। नेकपा एमालेकी सांसद एशुदा कुमारी बराल ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई संसद्मा उपस्थित गराउन माग गरेकी छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री संसद्मा नआएको भन्दै नागरिक स्तरबाट समेत प्रश्न उठिरहेको बताइन्।

advertisement

‘नेपाली जनताको माग छ। प्रधानमन्त्री सदनमा नआउनु भएको र उहाँ कहाँ हराउनुभयो भनेर भनिदिनु भन्नुभएको छ,’ उनले भनिन्, ‘उहाँलाई उपस्थित गराउन र हाजिर गराउन अनुरोध गर्दछु।’

प्रधानमन्त्री बालेनले हालसम्म संसद्लाई सम्बोधन गरेका छैनन्। नीति तथा कार्यक्रममाथिको छलफलमा पनि विपक्षी दलहरूले उनको अनुपस्थितिप्रति प्रश्न उठाउँदै आएका छन्।

त्यस्तै, संसद्मा हुनुपर्ने प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम पनि सञ्चालन हुन सकेको छैन। प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा तोकिनुपर्ने व्यवस्था छ।

तर, आगामी असार १५ सम्मको संसदीय क्यालेन्डरमा यस्तो कार्यक्रम समावेश गरिएको छैन। नियमअनुसार जेठ र असार महिनामा दुई पटक प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुनुपर्ने भए पनि दुवै महिनामा कार्यक्रम नपरेको बताइएको छ।

यसै पृष्ठभूमिमा सांसद बरालले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन माग गरेकी हुन्।

प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com