काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकार परिवर्तन भए पनि नेपालको नीतिगत निरन्तरता कायम रहने बताएका छन् । काठमाडौं र नयाँदिल्लीस्थित युरोपेली संघ (इयू) सहित विभिन्न मित्रराष्ट्रका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा उनले नयाँ सरकार बनेको भन्दै विगतका नीतिबाट पूर्ण रूपमा विचलित नहुने स्पष्ट पारे ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहले नेपालको नीति स्थिर, स्पष्ट र अनुमानयोग्य रहने उल्लेख गर्दै लोकतान्त्रिक मूल्य–मान्यता, राजनीतिक स्थिरता र सुशासनप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।
उनले आफ्नो नेतृत्वको सरकार नेपाली नागरिकको दैनिक जीवनस्तर सुधार गर्न केन्द्रित रहेको उल्लेख गर्दै जनताले हालैको निर्वाचनमार्फत सुशासन र समावेशी आर्थिक समृद्धिका पक्षमा स्पष्ट जनादेश दिएको बताए । प्रधानमन्त्रीले त्यो जनादेशप्रति आफूहरू पूर्ण रूपमा जिम्मेवार रहेको धारणा पनि राखे ।
प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार प्रधानमन्त्रीले नेपाललाई विश्व अर्थतन्त्रसँग थप प्रभावकारी रूपमा जोड्दै नयाँ अवसर सिर्जना गर्ने लक्ष्य सरकारको प्राथमिकतामा रहेको बताएका थिए । उनले विदेशी लगानी आकर्षित गर्न प्रशासनिक प्रक्रिया सरल बनाउने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने र दिगो विकासलाई गति दिने योजना सरकारसँग रहेको जानकारी दिए ।
प्रधानमन्त्री शाहले नेपालले सन्तुलित, व्यावहारिक र स्वतन्त्र विदेश नीतिलाई निरन्तरता दिने पनि बताए । उनका अनुसार नेपालले छिमेकी राष्ट्र, विकास साझेदार र अन्तर्राष्ट्रिय समुदायसँग पारस्परिक सम्मान, सार्वभौम समानता र साझा समृद्धिको आधारमा सम्बन्ध विस्तार गर्ने नीति अवलम्बन गरिरहेको छ ।
नेपालको विकासमा निरन्तर सहयोग पुर्याइरहेका मित्रराष्ट्र र विकास साझेदारप्रति आभार व्यक्त गर्दै उनले व्यापार, लगानी, हरित ऊर्जा, जलवायु परिवर्तन तथा पर्यटनका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य अझ सुदृढ बनाउने सरकारको लक्ष्य रहेको स्पष्ट पारे ।
प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया