काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संविधान र संसद्भन्दा माथि हुन नसक्ने भन्दै प्रतिनिधिसभामा उपस्थित भएर जवाफ दिनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै दुलालले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै कम्तीमा एक मिनेट भए पनि रोस्ट्रममा उभिएर सदनलाई सम्बोधन गर्नुपर्ने धारणा राखे ।

advertisement

उनले प्रधानमन्त्रीलाई विशेष छुट दिनुपर्ने भए सरकारले औपचारिक रूपमा सदनलाई जानकारी गराउनुपर्ने भन्दै कटाक्ष गरे । ‘प्रधानमन्त्री यही संसद्‌बाट जन्मिनुभएको हो । त्यसैले संसद्लाई सम्बोधन गर्नु उहाँको दायित्व हो,’ उनले भने ।

दुलालले प्रधानमन्त्री केवल सत्तापक्षको नभई विपक्षीको समेत प्रधानमन्त्री भएकाले संसद् र संविधानको मर्यादा कायम गर्नुपर्ने बताए । उनले संविधान र प्रतिनिधिसभा नियमावलीभित्र रहेर सदनलाई सम्मान गर्न सरकारलाई आग्रह गरे ।

सत्तापक्षले बहुमतको आडमा संसद् सञ्चालन गर्न खोजेको आरोप लगाउँदै उनले विपक्षीको विरोधबीच विधेयक पारित गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाए । केही दिनअघि विपक्षी अवरोधकै बीच वैकल्पिक वित्तसम्बन्धी विधेयक पारित गरिएको प्रसंग उठाउँदै उनले संसद्मा बहस, तर्क र छलफल बिना महत्वपूर्ण विधेयक पारित गर्नु लोकतान्त्रिक अभ्यासविपरीत हुने बताए ।

‘यदि सरकारको बहुमतकै भरमा सबै विधेयक पारित गर्ने हो भने सांसदहरू संसद्मा बसिरहनुको अर्थ के रहन्छ ? सरकारले ल्याएका प्रस्ताव सिधै सभामुखमार्फत राष्ट्रपतिसमक्ष पठाए भइहाल्यो,’ उनले व्यंग्य गरे ।

दुलालले प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीले प्रश्नोत्तरका लागि सदनमा उपस्थित हुनुपर्ने व्यवस्था भए पनि सरकारले त्यसलाई बेवास्ता गरेको टिप्पणी गरे । उनले नियमावलीको अधिकार प्रयोग गर्ने सरकारले आफ्नो कर्तव्य पनि पूरा गर्नुपर्ने बताए ।

उनले विपक्षी दलहरूको आवाजलाई बेवास्ता नगर्न चेतावनी दिँदै संसद्मा प्रतिपक्षले पनि ठूलो जनमतको प्रतिनिधित्व गर्ने स्मरण गराए । ‘संसदीय व्यवस्थामा बहुमत मात्र सबै कुरा होइन । प्रतिपक्षले पनि लाखौं नागरिकको आवाज बोकेको हुन्छ,’ उनले भने ।

दुलालले लोकतन्त्रमा प्रतिपक्षको भूमिकालाई सम्मान गर्नु नै सबै नागरिकको आवाजलाई सम्मान गर्नु भएको धारणा पनि राखे ।

प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com