काठमाडौं । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले प्रतिनिधिसभामा रास्वपा सांसद जगदीश खरेलले प्रधानमन्त्रीकै शैलीमा जवाफ दिन खोजेपछि आफूले नियमापत्ति जनाएको बताएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद खरेलले धारणा राखिरहेका बेला कांग्रेस सांसद केरुङले आपत्ति जनाएका थिए । त्यसलगत्तै सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।
बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै केरुङले संसद् जनप्रतिनिधिहरूको सर्वोच्च संस्था भएकाले सरकार स्वयं संसद्प्रति जवाफदेही हुनुपर्ने बताए । उनका अनुसार विपक्षी दलको मुख्य माग प्रधानमन्त्री बालेन्द्र शाहको प्रत्यक्ष उपस्थितिसहितको जवाफ हो ।
‘हामीले संसद् नियमावली, कानुन र संविधानअनुसार सदन चल्नुपर्छ भन्ने कुरा उठाइरहेका छौं । प्रधानमन्त्री स्वयं सदनमा आएर जवाफ दिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा हो,’ उनले भने ।
केरुङका अनुसार विपक्षी दलहरूले लामो समयदेखि प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै आएका छन् । तर, सरकारका तर्फबाट स्पष्ट जवाफ नआएको अवस्थामा विधेयक प्रक्रिया अघि बढाइएको भन्दै विपक्षीले विरोध जनाइरहेका छन् ।
उनले विधेयकमाथिको छलफलका क्रममा रास्वपा सांसद खरेलले प्रधानमन्त्रीकै तर्फबाट जवाफ दिएको जस्तो अभिव्यक्ति दिएको आरोप लगाए । ‘उहाँले आफ्नो धारणा राख्नु संसदीय प्रक्रियाभित्र पर्छ । तर प्रधानमन्त्रीको प्रतिनिधिजस्तै भएर जवाफ दिन खोज्नु संसदीय मर्यादाअनुकूल भएन,’ केरुङले भने ।
उनका अनुसार विपक्षीले सांसद खरेलसँग होइन, प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रत्यक्ष जवाफ खोजिरहेका छन् । उनले खरेल मन्त्रिपरिषद्को सदस्यसमेत नभएकाले प्रधानमन्त्रीको भूमिकामा प्रस्तुत हुनु उपयुक्त नभएको टिप्पणी गरे ।
केरुङले संसद्मा संवाद र सहमतिबाट वातावरण बनोस् भन्ने अपेक्षा रहे पनि सरकार पक्षले विपक्षीको मागलाई गम्भीर रूपमा नलिएको आरोप पनि लगाए ।
प्रकाशित मिति: १२ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया