काठमाडौं। प्यालेस्टाइनको जेरुसेलमस्थित पवित्र अल-अक्सा मस्जिद लाई लिएर नयाँ राजनीतिक तथा धार्मिक द्वन्द्व चर्कने संकेत देखिएको छ ।
अमेरिका र इजरायल मिलेर अल-अक्सा मस्जिदमाथि जोर्डनको दशकौँ पुरानो संरक्षकत्व (कस्टोडियन) भूमिका हटाउने गोप्य योजना बनाइरहेको खुलासा भएको छ ।
विभिन्न अन्तर्राष्ट्रिय रिपोर्टहरूका अनुसार यो योजनालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर र इजरायलका लागि अमेरिकी राजदूत माइक हकाबीले अगाडि बढाइरहेका छन् ।
कुशनर हाल कुनै आधिकारिक पदमा नरहे पनि पर्दा पछाडिबाट सक्रिय भूमिका खेलिरहेको बताइएको छ ।
यो प्रस्तावित योजनाअनुसार जोर्डनद्वारा समर्थित इस्लामिक वक्फको अधिकार पूर्ण रूपमा कटौती गरिनेछ र त्यसको सट्टा इजरायल सरकारको प्रत्यक्ष नियन्त्रणमा नयाँ निकाय गठन गरिने छ ।
रिपोर्टहरूका अनुसार यो नयाँ व्यवस्था लागू भएमा अल-अक्सा मस्जिदलाई ‘मल्टी-फेथ सेन्टर’ अर्थात् बहुधार्मिक स्थलको रूपमा घोषणा गर्न सकिनेछ ।
यसअन्तर्गत ठूलो संख्यामा यहूदीहरूलाई मस्जिद परिसरभित्र प्रवेश गरी औपचारिक रूपमा प्रार्थना गर्न अनुमति दिइनेछ ।
इजरायल सरकारलाई मस्जिदका इमाम, धार्मिक उपदेशक र प्रशासनिक अधिकारीहरूको नियुक्तिमा समेत हस्तक्षेप गर्ने अधिकार प्राप्त हुनेछ ।
शुक्रबारको खुत्बा (धार्मिक भाषण) को विषयवस्तुमा पनि इजरायलले नियन्त्रण गर्न सक्ने बुँदाहरू योजनामा समेटिएको बताइएको छ ।
मिडल इस्ट आई लगायतका सञ्चारमाध्यमले सार्वजनिक गरेको रिपोर्टअनुसार अमेरिकाले अल-अक्साको भविष्यबारे एउटा मस्यौदा तयार पारिसकेको छ ।
यसमा मस्जिद परिसरलाई इस्लामबाट अलग गरेर तीनवटा अब्राहमिक धर्म (इस्लाम, इसाई र यहूदी) को साझा पर्यटकीय तथा धार्मिक केन्द्र बनाउने प्रस्ताव छ ।
यो विवाद सतहमा आएसँगै जोर्डनको चिन्ता सबैभन्दा बढी बढेको छ ।
जोर्डनको हासेमाइट शाही परिवारलाई सन् १९२४ देखि जेरुसेलमका मुस्लिम तथा इसाई धार्मिक स्थलहरूको आधिकारिक संरक्षक मानिँदै आएको छ ।
सन् १९९४ को जोर्डन-इजरायल शान्ति सन्धिमा पनि यो भूमिकालाई मान्यता दिइएको थियो ।
हाल अल-अक्सा मस्जिद ‘स्टेटस क्वो’ (यथास्थिति) सम्झौताअन्तर्गत सञ्चालन हुँदै आएको छ ।
सन् १९६७ को युद्धपछि तय भएको यो व्यवस्थाअनुसार मस्जिदको आन्तरिक मामिला इस्लामिक वक्फले सम्हाल्छ भने बाहिरी सुरक्षा इजरायलको जिम्मेवारीमा छ ।
गैर-मुस्लिमहरूलाई सीमित समयका लागि परिसरमा प्रवेश गर्न अनुमति छ तर प्रार्थना गर्न पाइँदैन ।
तर विगत केही वर्षयता इजरायली प्रहरीको धरपकड, दक्षिणपन्थी यहूदी समूहको उपस्थिति र यहूदीहरूलाई पनि प्रार्थना गर्ने अधिकार दिनुपर्ने माग बढ्दै गएको छ ।
प्यालेस्टाइनी तथा जोर्डनी पक्षले इजरायलले बिस्तारै पुरानो व्यवस्था परिवर्तन गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै आएका छन् ।
यो योजनाबारे बहराइन, इजिप्ट, मोरक्को र संयुक्त अरब इमिरेट्सलाई जानकारी गराइसकिएको छ ।
तर साउदी अरबले भने यसमा कडा आपत्ति जनाएको छ ।
खाडी मुलुकका स्रोतहरूका अनुसार साउदी अरबले अल-अक्साको वर्तमान संरक्षकत्वमा कुनै छेडछाड भए सम्पूर्ण मध्यपूर्व युद्धको चपेटामा पर्न सक्ने चेतावनी दिएको छ ।
जोर्डन सरकारले जेरुसेलम र त्यहाँका धार्मिक स्थलहरूमा आफ्नो अडान स्पष्ट र अपरिवर्तित रहेको जनाएको छ ।
प्यालेस्टाइनले पनि यो प्रस्तावलाई पूर्ण रूपमा खारेज गरेको छ ।
अब मुख्य प्रश्न यो हो कि यो योजना केवल कूटनीतिक दबाब सिर्जना गर्नका लागि हो वा अल-अक्सा मस्जिदको वर्तमान स्थिति बदल्ने ठूलो तयारी भइरहेको छ ।
यदि यो योजना कार्यान्वयनमा आयो भने यसले जेरुसेलममा मात्र होइन, सम्पूर्ण मुस्लिम विश्व र मध्यपूर्वको राजनीतिमा ठूलो भूकम्प ल्याउने निश्चित छ ।
प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार












प्रतिक्रिया