काठमाडौं। विश्व अर्थतन्त्रमा व्याप्त अनिश्चितता र क्षेत्रीय द्वन्द्वका बाबजुद नेपालको समष्टिगत आर्थिक सूचक हरूमा सकारात्मक सुधार देखिएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणले मुलुकको बाह्य क्षेत्र मजबुत बन्दै गएको देखाएको हो ।
सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने सरकारी प्रक्षेपण गरिएको छ ।
विश्व अर्थतन्त्रको वृद्धिदर ३.१ प्रतिशतमा खुम्चिने अनुमान भइरहेको अवस्थामा नेपालको वृद्धिदर भने सकारात्मक दिशामा रहेको सरकारको दाबी छ ।
यस अवधिमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ६६ खर्ब रुपैयाँ पुग्ने र प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५ सय ३५ अमेरिकी डलर पुग्ने अनुमान छ ।
प्रदेशगत रूपमा हेर्दा बागमती र गण्डकी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने देखिएको छ भने बाँकी प्रदेशहरू औसतभन्दा कम वृद्धिदरमा सीमित हुने प्रक्षेपण गरिएको छ ।
कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैर–कृषि क्षेत्रको योगदान ७६ प्रतिशत रहने अनुमान छ ।
बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा एक्लै ३६.७ प्रतिशत योगदान रहने उल्लेख छ ।
तर कृषि क्षेत्रमा चुनौती कायमै छ । मुलुकको मुख्य बाली धान उत्पादनमा यो वर्ष ४.२० प्रतिशतले ह्रास आएर ५७ लाख ५ हजार मेट्रिक टनमा सीमित भएको छ ।
राजस्व तथा सरकारी खर्चको अवस्थालाई हेर्दा चालू आर्थिक वर्षको फागुनसम्म संघीय राजस्वमा ३.२ प्रतिशतको सामान्य वृद्धि भएको छ भने सरकारी खर्च १०.४ प्रतिशतले बढेको छ ।
तर विकास निर्माणसँग जोडिने पुँजीगत खर्चको अवस्था भने अझै कमजोर रहेको सर्वेक्षणले देखाएको छ ।
हाल मुलुकको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४३.६ प्रतिशत हो ।
यसै आर्थिक वर्षमा मात्र सरकारले ३ खर्ब रुपैयाँ बराबरको सार्वजनिक ऋण परिचालन गरेको छ ।
बाह्य क्षेत्रका सूचकहरू भने निकै मजबुत देखिएका छन् ।
विप्रेषण आप्रवाहमा ३७.७ प्रतिशतको उच्च वृद्धि भई १४ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ ।
विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ, जसले १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता राख्छ ।
तर व्यापार घाटा भने ११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ ।
देशमा प्रविधिमैत्री भुक्तानी प्रणालीमा पनि उल्लेख्य विस्तार भएको छ ।
फागुनसम्म क्यूआर कोडमार्फत हुने कारोबार १ खर्ब २५ अर्ब रुपैयाँ नाघेको छ ।
समग्रमा, यो आर्थिक सर्वेक्षणले बाह्य क्षेत्रमा मजबुती र समष्टिगत सूचकहरूमा सुधार देखाए पनि आन्तरिक उत्पादन, पुँजीगत लगानी र व्यापार सन्तुलनका चुनौतीहरूलाई सम्बोधन गर्नुपर्ने आवश्यकता भने टड्कारो रूपमा देखाएको छ ।
प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार












प्रतिक्रिया