काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानमन्त्री सुशीला कार्कीदेखि पूर्वगृहमन्त्री सुधन गुरुङसम्मका व्यक्तिहरूमाथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ ।
आयोग सदस्य डा. लिली थापाको संयोजकत्वमा गठित समितिले २३ र २४ भदौको जेनजी आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिमा उनीहरूको संलग्नता रहे नरहेको बारे सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरेको हो ।
आयोगले जारी गरेको सिफारिसमा भनिएको छ, ‘भाद्र २३ र २४ गतेको घटनामा भएको मानवीय र भौतिक क्षतिका कार्यमा निजहरूको संलग्नता रहे नरहेको, निजहरूको अभिव्यक्तिबाट प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे नपरेको, सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने काम निजहरूबाट भए नभएको वा सोको दुरुत्साहन भए नभएको सम्बन्धमा सूक्ष्म अनुसन्धान गरी सम्बन्धित व्यक्ति तथा आम नागरिकलाई सुसूचित गराई उल्लिखित व्यक्तिहरूको स्वच्छ सुनुवाइको हक अधिकारको सुनिश्चितता सहित अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न’ सिफारिस गरिएको छ ।
आयोगले यो सिफारिस बुधबार प्रधानमन्त्री कार्यालयमा पठाइसकेको छ ।
शान्तिपूर्ण प्रदर्शन गर्ने भनी अनुमति लिएकोमा प्रदर्शन हिंसात्मक हुँदै जाँदा घुसपैठ रोक्न तथा प्रदर्शनलाई हिंसात्मक हुन नदिन आवश्यक कार्य नगरेको भन्दै आयोगले आयोजकका रूपमा रहेका पुरुषोत्तम यादव, सबल गौतम, अंकित मल्ल, खेमराज साउद तथा हामी नेपाल संस्थाका अध्यक्ष सुधन गुरुङसमेतलाई थप अनुसन्धान गर्न सिफारिस गरेको छ ।
त्यस्तै, विभिन्न अभियन्ता, आह्वानकर्ता तथा समर्थकहरूले दिएका अभिव्यक्ति वा उनीहरूको दुरुत्साहनका कारण आन्दोलन हिंसात्मक बनी मानवीय र भौतिक क्षति भएको नभएको बारे अनुसन्धान गर्न आयोगले चार दर्जनभन्दा बढी व्यक्तिको नाम सिफारिस गरेको छ ।
उनीहरूमा गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, रक्षा बम, कृष्ण कार्की, डा. तोषिमा कार्की, राजिव खत्री, शोम शर्मा, केपी खनाल, दिपक बोहरा, मनिष झा, ज्वाला संग्रौला, हेमराज थापा, विमल पन्त, खेमराज साउद, पुरुषोत्तम यादव, सुधन गुरुङ, अमनप्रताप अधिकारी, विवेक थपलिया, सिसन बानियाँ, आशिका तामाङ, असिममान बस्नेत, भाग्य न्यौपाने, टंक दाहाल, भिक्टर पौडेल, अंकित मल्ल, उमेश बोहरा, शिव यादव, विनोद देउवा, सरु सुनुवार, भीम उपाध्याय, रवि किरण हमाल, हरि ढकाल, निश्चल बस्नेत, सुशीला कार्की, ओमप्रकाश अर्याल, गौरीबहादुर कार्की, पशुपति खड्का, दुर्गा प्रसाईं, उर्जा बराल, जेरी ताम्राकार, हेमसागर विद्रोही, बुद्ध छिरिङ, सन्तोष राजावादी, अमित खनाल, दिपक देवकोटा, गौरब बराल, हिमानी राज्यलक्ष्मी सिंह, निशान मैनालीलगायत छन् ।
आयोगले उनीहरूले प्रदर्शन पूर्व, प्रदर्शनका दौरान र प्रदर्शन पश्चात् जेनजी प्रदर्शन सम्बन्धमा दिएको अभिव्यक्ति, सामाजिक सञ्जाल, प्रकाशित समाचार तथा राष्ट्रिय अनुसन्धान विभागले संकलन गरेको प्रतिवेदनलाई आधार बनाएर यो सिफारिस गरेको जनाएको छ ।
प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया