काठमाडौं । गत वर्ष भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीको भूमिका शंकास्पद देखिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले छानबिनका लागि सरकारलाई सिफारिस गरेपछि उनले असन्तुष्टि जनाएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आयोगको प्रतिवेदनप्रति प्रतिक्रिया दिएका हुन्।
आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा रास्वपाका सभापति रवि लामिछानेसहित १७ जना सांसदमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरिएको छ। आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिले भदौ २३ र २४ गतेका घटनामा मानव अधिकार उल्लंघन भएको निष्कर्षसहित प्रतिवेदन सार्वजनिक गरेको हो।
प्रतिवेदनमा आन्दोलनका क्रममा सांसदहरूले रवि लामिछानेलाई जेलबाट निकाल्ने प्रयास गरेको, जिल्ला प्रशासन कार्यालयबाट आन्दोलनको अनुमति लिएको तथा भीडलाई उक्साउने गतिविधिमा संलग्न भएको उल्लेख गरिएको छ। आयोगले उनीहरूमाथि निष्पक्ष छानबिन गरी दोषी ठहरिए कानुनी कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ।
यद्यपि, प्रतिवेदन सार्वजनिक भए पनि रास्वपाले यस विषयमा हालसम्म औपचारिक धारणा सार्वजनिक गरेको छैन।
प्रकाशित मिति: १४ जेष्ठ २०८३, बिहिबार













प्रतिक्रिया