काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन ले राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनसम्बन्धी सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरेका छन्।

पार्टी स्थापनाको ३६ औँ वर्ष प्रवेशको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले आयोगको प्रतिवेदन अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यसले विभिन्न तथ्य र घटनाहरू उजागर गरेको बताएका छन्। उनले प्रतिवेदनलाई कार्यान्वयन गर्ने दिशामा सरकार तत्काल अग्रसर हुनुपर्ने आवश्यकता औंल्याए।

advertisement

उनका अनुसार मानव अधिकार आयोगको प्रतिवेदन केवल राष्ट्रिय स्तरमै सीमित नभई संयुक्त राष्ट्र संघ र त्यससँग आवद्ध विभिन्न अन्तर्राष्ट्रिय निकायहरूको रेकर्डमा समेत रहने भएकाले यसप्रति गम्भीर हुनुपर्ने हुन्छ। उनले प्रतिवेदनमा दोषी ठहर भएका वा जिम्मेवार देखिएकाहरूले सफाइका लागि कानुनी प्रक्रिया अघि बढाउन ढिलाइ गर्न नहुने धारणा व्यक्त गरे।

राजेन्द्र लिङ्देन ले आयोगको प्रारम्भिक प्रतिवेदनले धेरै महत्वपूर्ण पक्ष उजागर गरेको उल्लेख गर्दै राज्यले निष्पक्षता, जवाफदेहिता र कानुनी शासन सुनिश्चित गर्नुपर्ने बताए। उनले मानव अधिकारसँग सम्बन्धित विषयलाई राजनीतिकरण नगरी निष्पक्ष रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।

उनले सरकारलाई प्रतिवेदन कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना बनाएर अघि बढ्न आग्रह गर्दै लोकतान्त्रिक प्रणालीमा पारदर्शिता र जवाफदेहिता अपरिहार्य हुने बताए।

कार्यक्रममा राप्रपाका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। पार्टीले आगामी दिनमा संगठन सुदृढीकरण, राजनीतिक गतिविधि विस्तार र समसामयिक मुद्दामा सक्रिय भूमिका निर्वाह गर्ने जनाएको छ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com