काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संसद् केवल कानुन निर्माण गर्ने निकाय मात्र नभई लोकतान्त्रिक मूल्य–मान्यता, उत्तरदायित्व, संवाद, सहमति र राष्ट्रिय हित संरक्षण गर्ने प्रमुख मञ्च भएको बताएका छन् ।

उन्नाइसौँ गणतन्त्र दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले लोकतन्त्रलाई थप सुदृढ, जिम्मेवार र परिणाममुखी बनाउने दिशामा संसद्को भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन् ।

advertisement

उनका अनुसार लोकतान्त्रिक प्रणाली मजबुत भए मात्र जनताले अपेक्षा गरेको सुशासन, भ्रष्टाचार नियन्त्रण र जनमुखी विकास सम्भव हुन्छ, जसले अन्ततः राष्ट्रलाई समृद्धिको बाटोमा अघि बढाउँछ ।

सभामुख अर्यालले गणतन्त्र दिवसलाई नेपाली जनताको लामो राजनीतिक संघर्ष, त्याग, बलिदान र लोकतान्त्रिक आकांक्षाको ऐतिहासिक उपलब्धिको रूपमा स्मरण गरेका छन् । उनले वि.सं. २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा हुनु नेपाली जनताको सार्वभौम अधिकार, समावेशी शासन प्रणाली र सामाजिक न्यायतर्फको महत्वपूर्ण ऐतिहासिक परिवर्तन भएको उल्लेख गरे ।

उनले लोकतन्त्र, गणतन्त्र, मानव अधिकार, समावेशिता, सामाजिक न्याय तथा प्रगतिशील परिवर्तनका पक्षमा भएका जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलन, आदिवासी जनजाति आन्दोलन, महिला आन्दोलन लगायतका संघर्षमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै घाइते, बेपत्ता तथा परिवर्तनका सबै योद्धा र अभियन्ताप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।

सभामुख अर्यालले लोकतन्त्रको वास्तविक अर्थ नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन, सामाजिक न्यायको सुनिश्चितता, अवसरमा समान पहुँच, आर्थिक समृद्धि र सम्मानपूर्ण जीवनयापनसँग प्रत्यक्ष रूपमा जोडिएको बताएका छन् ।

उनका अनुसार प्रतिनिधिसभा जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्था भएकाले जनभावना, जनचाहना र राष्ट्रिय आकांक्षालाई नीति, कानुन र संसदीय अभ्यासमार्फत सम्बोधन गर्ने महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेको छ ।

गणतन्त्र दिवसले सबैलाई राष्ट्रिय एकता, लोकतान्त्रिक संस्कार, संवैधानिक सर्वोच्चता र समृद्ध नेपाल निर्माणको साझा संकल्पप्रति थप प्रतिबद्ध र एकताबद्ध बनाउन सकोस् भन्ने शुभकामना पनि सभामुख अर्यालले व्यक्त गरेका छन् ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com