काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष (२०८३/०८४)को बजेट शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेस गरेका हुन् ।
बजेट वक्तव्यमा तीन स्थानमा ‘जेनजी आन्दोलन’ शब्द परेको छ ।
जेनजी आन्दोलनको बलमा भएको राजनीतिक परिवर्तनपछि प्रतिधिनिधि सभाको निर्वाचन भई राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुई तिहाइ बहुमतसहित सरकारको नेतृत्व गरेको छ ।
यस अर्थमा वर्तमान सरकार जेनजी आन्दोलनकै कारण विकसित परिस्थितिको जगमा बनेको हो भन्दा फरक पर्दैन ।
रास्वपा नेतृत्वको सरकारले पहिलो पटक एकल बहुमतको सरकार गठन गर्दै बजेट ल्याएको हो ।
बजेट वक्तव्यको ४१ औँ बुँदाको (ग)मा ‘जेनजी आन्दोलन’सँग सम्बन्धित विषय समेटिएको छ ।
उक्त बुँदामा भनिएको छ, ‘जेनजी आन्दोलनका क्रममा क्षति भएका सरकारी भवनको प्रबलीकरण तथा पुनर्निर्माण कार्यलाई प्राथमिकता दिनेछौँ ।’
यस्तै बुँदा नम्बर ४९ को (ख) मा पनि जेनजी आन्दोलनको विषय समेटिएको छ ।
सो बुँदामा भनिएको छ, ‘जेनजी आन्दोलनका सहिदको सम्मान गरिनुका साथै सहिद परिवारको लागि सम्मानजनक आर्थिक सहायता सुनिश्चित गरिएको छ ।
आन्दोलनका घाइतेका लागि निःशुल्क स्वास्थ्य उपचार, घाइतेको अवस्था अननुसार मासिक भत्ता र उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन गर्नेछौँ ।’
जेनजी आन्दोलनबारे बजेट वक्तव्यमा तेस्रो प्रसङ्ग बुँदा नम्बर ५९ (ङ)मा उल्लेख छ ।
उक्त बुँदामा भनिएको छ, ‘सहुलियतपूर्ण कर्जाको प्रभावकारिता अभिवृद्धि गर्ने गरी तेस्रो पक्षबाट कर्जाको गुणस्तर मूल्याङ्कन गराउने छौँ ।
जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई समेत यस कार्यक्रमको लाभग्राहीको रूपमा सहभागी गराउने छौँ ।’
प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया