सांकेतिक तस्विर
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको आर्थिक विधेयकमार्फत विभिन्न मदिराजन्य पेय पदार्थमा लाग्ने अन्तःशुल्क वृद्धि गरेको छ। नयाँ दररेटअनुसार विशेषगरी बियर, वाइन तथा मध्यम श्रेणीका मदिरामा करको भार बढाइएको छ।
कानुन आयोगले सार्वजनिक गरेको पुरानो र नयाँ अन्तःशुल्क दररेटको तुलना गर्दा बियरमा प्रतिलिटर १५ रुपैयाँसम्म कर वृद्धि गरिएको देखिन्छ। चालु आर्थिक वर्षमा प्रतिलिटर २४० रुपैयाँ अन्तःशुल्क लाग्दै आएको बियरमा अब २५५ रुपैयाँ तिर्नुपर्नेछ।
अल्कोहलरहित बियरमा भने सरकारले उल्लेख्य रूपमा कर बढाएको छ। यसअघि प्रतिलिटर ४५ रुपैयाँ रहेको अन्तःशुल्कलाई दोब्बर बढाएर ९० रुपैयाँ कायम गरिएको छ। त्यस्तै, परम्परागत पेय छ्याङ (कन्ट्री बियर) मा प्रतिलिटर ४८ रुपैयाँ लाग्दै आएकोमा अब ५० रुपैयाँ पुर्याइएको छ।
वाइनतर्फ पनि अन्तःशुल्क बढाइएको छ। १२ देखि १७ प्रतिशतसम्म अल्कोहलयुक्त वाइनमा प्रतिलिटर ४६० रुपैयाँ लाग्दै आएको कर अब ४९० रुपैयाँ पुगेको छ। १७ प्रतिशतभन्दा बढी अल्कोहल भएको वाइनमा प्रतिलिटर ५३५ रुपैयाँ रहेको अन्तःशुल्क बढेर ५७० रुपैयाँ पुगेको छ।
सेम्पेन, सेरी र साकेजस्ता पेय पदार्थमा समेत अन्तःशुल्क वृद्धि गरिएको छ। यसअघि प्रतिलिटर ५१६ रुपैयाँ रहेको कर अब पेयको प्रकारअनुसार ५४० देखि ५७० रुपैयाँसम्म कायम गरिएको छ।
यद्यपि उच्चस्तरीय तथा बढी अल्कोहलयुक्त प्रिमियम ब्रान्डका कडा मदिरा—जस्तै ह्विस्की, ब्रान्डी, रम र भोड्काको अन्तःशुल्कमा भने खासै परिवर्तन गरिएको छैन। तर केही मध्यम तथा तल्लो श्रेणीका मदिरामा कर वृद्धि गरिएको छ।
१५, २५ र ३० यु.पी. शक्ति भएका मदिराको अन्तःशुल्क पुरानै दरमा कायम राखिएको छ। १५ यु.पी.मा प्रतिलिटर १ हजार ८६० रुपैयाँ, २५ यु.पी.मा १ हजार ३९० रुपैयाँ र ३० यु.पी.मा १ हजार २९० रुपैयाँ अन्तःशुल्क यथावत् राखिएको छ।
४० यु.पी. शक्ति (३४.२३ प्रतिशत अल्कोहल) भएको मदिरामा प्रतिलिटर ६५० रुपैयाँ रहेको अन्तःशुल्क बढाएर ६९० रुपैयाँ पुर्याइएको छ। त्यस्तै, ५० यु.पी. शक्ति (२८.५३ प्रतिशत अल्कोहल) भएको मदिरामा प्रतिलिटर ४५० रुपैयाँबाट बढाएर ४९० रुपैयाँ कायम गरिएको छ।
मदिरा मिश्रित तयारी पेय पदार्थमा पनि कर वृद्धि गरिएको छ। ५ प्रतिशतसम्म अल्कोहल भएको यस्ता पेयमा प्रतिलिटर २४० रुपैयाँ लाग्दै आएको अन्तःशुल्क अब २५५ रुपैयाँ पुगेको छ।
नयाँ व्यवस्था अनुसार सरकारले विशेषगरी बियर तथा मध्यम श्रेणीका मदिरामा कर बढाएर राजस्व संकलन वृद्धि गर्ने लक्ष्य राखेको देखिन्छ। तर उच्च मूल्यका प्रिमियम मदिराको अन्तःशुल्क दर भने यथावत् राखिएको छ।
आयातित मदिराको हकमा अल्कोहलको मात्रा १ प्रतिशतसम्म घटबढ भए पनि सोही कर दरबन्दी लागू हुने व्यवस्था भने निरन्तर कायम राखिएको छ।
प्रकाशित मिति: १६ जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया