काठमाडौं। नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा पर्यटक भिसामा नेपाल आएर अवैध रूपमा व्यापारिक गतिविधि सञ्चालन गरिरहेको आरोपमा दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
प्रहरीले उनीहरूलाई बिलबिजकविहीन ज्याकेटसहित नियन्त्रणमा लिएर थप कारबाहीका लागि अध्यागमन विभाग पठाएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का अनुसार देवचुली नगरपालिका–१३ दलदले बजार क्षेत्रमा पर्यटक भिसाको दुरुपयोग गर्दै अनुमति बिना सामान बिक्री वितरण भइरहेको सूचनाका आधारमा विशेष प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरीले शुक्रबार गरेको अनुगमनका क्रममा ५८ वर्षीय च्यान जिन्चियान र ६० वर्षीया यी लिहुआ लाई शंकास्पद अवस्थामा फेला पारेको थियो।
उनीहरू पर्यटक भिसामा नेपाल प्रवेश गरेर व्यापारिक गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
खानतलासीका क्रममा उनीहरूको साथबाट बिलबिजक तथा आधिकारिक कागजात नभएका ४३ थान ज्याकेट बरामद गरिएको थियो।
ती ज्याकेटहरू छालाजन्य सामग्रीजस्ता देखिने र बिक्रीका लागि प्रदर्शन गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पर्यटक भिसामा नेपाल आएका विदेशी नागरिकले व्यावसायिक कारोबार, व्यापार वा आम्दानीमूलक गतिविधि सञ्चालन गर्न पाउँदैनन्।
यस्तो कार्य अध्यागमनसम्बन्धी प्रचलित कानुनविपरीत मानिन्छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल पण्डितले पक्राउ परेका दुवै चिनियाँ नागरिकलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन अध्यागमन विभाग पठाइएको जानकारी दिए।
अध्यागमन कानुनअनुसार भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न विदेशी नागरिकमाथि जरिवाना, भिसा रद्द, निष्कासन (डिपोर्ट) लगायतका कारबाही हुन सक्ने व्यवस्था छ।
प्रहरीले पछिल्लो समय पर्यटक भिसामा नेपाल आएर अवैध व्यापार, गैरकानुनी व्यवसाय तथा अन्य आर्थिक गतिविधिमा संलग्न हुने प्रवृत्ति बढ्दै गएको भन्दै यस्ता गतिविधिमाथि निगरानी र कारबाहीलाई थप कडाइ गरिएको जनाएको छ।
प्रकाशित मिति: १६ जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया