काठमाडौं। दक्षिण कोरियाको राजधानी सियोलमा ७३औँ सगरमाथा दिवस मनाइएको छ ।
सियोलस्थित नेपाली राजदूतावासले उमः हङ गिल ह्युमन फाउन्डेसनको सहकार्यमा विशेष कार्यक्रम आयोजना गरी दिवस मनाएको दूतावासले जनाएको छ ।
कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले भिडियो सन्देशमार्फत शुभकामना दिए ।
उनले सगरमाथा र नेपालका अन्य हिमालको आरोहण गर्ने उपस्थित सबै कोरियाली पर्वतारोहीलाई हार्दिक बधाई दिँदै पर्वतारोहीहरू, पर्यटन व्यवसायीहरू, पदयात्रीहरू र पर्यटकलाई अनुपम प्रकृति, विविध संस्कृति, साहसिक यात्रा, तीर्थयात्रा, शान्ति र आरोग्यताजस्ता सबै प्रकारका पर्यटन गन्तव्यस्थलका रूपमा नेपाललाई अनुभव गर्न आमन्त्रित गरे ।
कार्यक्रममा दक्षिण कोरियाका लागि नेपाली कार्यवाहक राजदूत निर्मलप्रसाद भट्टराईले नेपालका हिमाल, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र नेपाली आतिथ्यताबारे जानकारी गराउँदै कोरियाली नागरिकलाई नेपाल भ्रमण गर्न आग्रह गरे ।
उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको प्रभावबारे चर्चा गर्दै हिमाली पारिस्थितिकीय प्रणाली संरक्षणका लागि अन्तरराष्ट्रिय सहकार्य आवश्यक रहेको बताए ।
उनले भने, “जलवायु परिवर्तनको प्रभाव कुनै एक राष्ट्र वा क्षेत्रमा मात्र सीमित नरही विश्वव्यापी चुनौतीका रूपमा देखिएको छ, यसको समाधानका लागि सामूहिक अन्तरराष्ट्रिय पहलको आवश्यकता बोध गरी नेपाल सरकारले सन् २०२५ देखि जलवायु परिवर्तन, हिमाली पारिस्थितिक प्रणाली तथा दिगो विकाससँग सम्बन्धित विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय सरोकारका विषयमा साझा बहस र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले ‘सगरमाथा संवाद’ नामक बहुपक्षीय तथा अन्तर क्षेत्रीय संवाद मञ्च स्थापना गरेको र यसको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको छ ।”
कार्यक्रममा सगरमाथा आरोही, पर्यटन व्यवसायी तथा विज्ञहरूले नेपालमा पर्वतीय पर्यटनको सम्भावना, जलवायु परिवर्तनका चुनौती र दिगो पर्यटन प्रवर्द्धनका विषयमा धारणा राखेका थिए ।
कोरियाली तथा नेपाली समुदाय, पर्यटन व्यवसायी, सञ्चारकर्मी र विभिन्न संस्थाका प्रतिनिधिसहित करिब ११५ जनाको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: १६ जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया