काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले जनताको जीवनस्तर उकास्ने र राष्ट्रको समृद्धिलाई टेवा पुग्ने खालका कानून निर्माण गर्नुपर्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान संशोधनबारे बहस र छलफल सुरु भइसकेको सन्दर्भमा जनअपेक्षा सम्बोधन गर्ने तथा देशको विकासलाई गति दिने कानून निर्माणमा सबै पक्ष गम्भीर हुनुपर्ने बताए।
सभामुख अर्यालले कार्यपालिकाको नेतृत्व गरिरहेको सरकारलाई आवश्यक सहयोग गर्दै व्यवस्थापिकाले प्रभावकारी र समयानुकूल कानून निर्माणमा भूमिका खेल्नुपर्ने उल्लेख गरे। उनले कानून निर्माण प्रक्रियालाई थप परिणाममुखी बनाउन सरोकारवालाहरूबाट रचनात्मक सुझाव आवश्यक रहेको पनि बताए।
उनले मुलुकमा सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र राज्यप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न अब सबै राजनीतिक शक्ति एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखे।
देशको नेतृत्वमा पुगेका राजनीतिक व्यक्तित्वहरूको प्रमुख जिम्मेवारी राष्ट्रलाई थप सबल, सक्षम र समृद्ध बनाउँदै भावी पुस्तालाई हस्तान्तरण गर्नु रहेको उनको भनाइ थियो।
सभामुख अर्यालले निजी क्षेत्रलाई विकासको साझेदारका रूपमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै देशभित्रै रोजगारी र लगानीको अनुकूल वातावरण सिर्जना गर्नुपर्ने बताए। उनले वैदेशिक रोजगारी तथा अवसरको खोजीमा विदेशिएका नेपालीलाई स्वदेशमै फर्केर भविष्य देख्ने वातावरण निर्माण गर्नु आजको आवश्यकता भएको उल्लेख गरे।
नेपाललाई लगानी, उद्यमशीलता र अवसरको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सके मात्र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सकिने उनको भनाइ थियो।
प्रकाशित मिति: १६ जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया