काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको लहरबाट उदाउने राजनीतिक शक्ति हरू दीर्घकालीन रूपमा टिक्न नसक्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विचार, संगठन र ठोस राजनीतिक आधारविना केवल भर्चुअल माध्यमबाट उठ्ने शक्तिहरू छिट्टै कमजोर हुने र पतनतर्फ जाने दाबी गरे।
उनका अनुसार पछिल्लो समय देखिएको राजनीतिक प्रवृत्तिमा गहिरो वैचारिक आधार र स्थायी नेतृत्वको अभाव स्पष्ट रूपमा देखिन्छ।
सांसद पुनले सामाजिक सञ्जाल अहिले एजेन्डा निर्माणको प्रमुख माध्यम बने पनि त्यसले दीर्घकालीन राजनीतिक स्थायित्व दिन नसक्ने उल्लेख गरे।
उनका अनुसार डिजिटल प्लेटफर्ममा बनेका आन्दोलन र लोकप्रियतामा आधारित शक्ति संरचनाहरू छिटो उक्लिएजस्तै छिट्टै ओरालो लाग्ने स्वभावका हुन्छन्।
उनले निर्वाचन प्रक्रियामा पनि सामाजिक सञ्जालको प्रभाव बढ्दै गएको भए पनि भौतिक संगठन, कार्यकर्ता संरचना र विचारधारात्मक आधार नै अन्ततः निर्णायक हुने बताए।
पुनका अनुसार कुनै निश्चित नेतृत्व, स्पष्ट विचार र संस्थागत संगठनबिना अघि बढेका राजनीतिक शक्तिहरू लामो समय टिक्न सक्दैनन्।
नेता पुनले अहिलेको डिजिटल युगले राजनीतिक गतिविधिलाई तीव्र बनाएको स्वीकार गर्दै आफ्ना पार्टी संरचना र कार्यकर्तालाई प्रविधिमैत्री बनाउनु आवश्यक रहेको धारणा पनि राखे।
तर प्रविधिको प्रयोग मात्र पर्याप्त नभई त्यससँगै बलियो संगठन र दीर्घकालीन दृष्टिकोण आवश्यक हुने उनको भनाइ थियो।
उनले भर्चुअल माध्यमबाट उठेका आन्दोलनहरू छोटो समयमा उच्च लोकप्रियतामा पुगे पनि त्यत्तिकै छिटो कमजोर हुने प्रवृत्ति देखिएको उल्लेख गरे।
यस्तो अवस्थाले राजनीतिक अस्थिरता निम्त्याउन सक्ने भन्दै उनले सचेत रहन आग्रह गरे।
पुनका अनुसार नेपालको भविष्य राजनीतिक रूपमा स्थायी, संगठित र वैचारिक रूपमा स्पष्ट शक्तिहरूको हातमा मात्र सुरक्षित हुन सक्छ।
प्रकाशित मिति: १६ जेष्ठ २०८३, शनिबार












प्रतिक्रिया