काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्न इच्छुक सबैले लिडरसीप एकेडेमी कोर्स पूरा गर्नु अनिवार्य हुने बताएका छन्।

शनिबार नेपाल थारु संघको प्रथम महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीभित्र नेतृत्व विकास र उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित बनाउन यस्तो व्यवस्था लागू गर्न लागिएको जानकारी दिए।

advertisement

उनका अनुसार लिडरसीप एकेडेमीमा भर्ना भई निर्धारित कोर्स पूरा नगर्ने व्यक्तिहरू आगामी निर्वाचनमा उम्मेदवार बन्न अयोग्य हुनेछन्।

थापाले पार्टीले नेतृत्व विकासका लागि छुट्टै संरचना निर्माण गरिसकेको उल्लेख गर्दै अबको निर्वाचनमा नयाँ तथा दोहोरिने दुवै प्रकारका आकांक्षीहरूले अनिवार्य रूपमा सो एकेडेमीमा सहभागी हुनुपर्ने बताए।

उनले यसलाई राजनीतिक नेतृत्वलाई दक्ष, जिम्मेवार र प्रतिस्पर्धी बनाउने अभियानका रूपमा व्याख्या गरे।

उनका अनुसार अब केही दिनभित्रै लिडरसीप एकेडेमीमा भर्नाका लागि खुला आह्वान गरिनेछ, जसमा ७५३ वटै स्थानीय तहका इच्छुक उम्मेदवारहरूले सहभागिता जनाउन सक्नेछन्।

कोर्स पूरा गरेपछि मात्र उम्मेदवारका रूपमा योग्य हुने व्यवस्था लागू गरिने उनले स्पष्ट पारे।

सभापति थापाले महिला सहभागितालाई विशेष प्राथमिकता दिइने पनि बताए।

उनले आगामी स्थानीय तह निर्वाचनमा ७५३ पालिकामध्ये कम्तीमा १०० वटा पालिकामा मेयर वा अध्यक्ष पदका लागि महिला उम्मेदवार उठाउने तयारी रहेको जानकारी दिए।

त्यसका लागि अहिले नै बढीभन्दा बढी महिलालाई नेतृत्व विकास कार्यक्रममार्फत अघि बढाउनुपर्ने उनले जोड दिए।

थापाले पार्टीभित्र निर्वाचन व्यवस्थापनका लागि इलेक्सन ब्युरो गठन गरिएको र यसको नेतृत्व पूर्व उपसभापति पुष्पा भुसालले गरिरहेको उल्लेख गरे।

उनले संगठन, प्रशिक्षण र तयारीलाई प्रभावकारी बनाउँदै आगामी निर्वाचनमा कांग्रेसलाई अझ सशक्त रूपमा प्रस्तुत गर्ने लक्ष्य रहेको बताए।

उनका अनुसार समुदाय, समावेशिता र नेतृत्व विकासलाई केन्द्रमा राख्दै कांग्रेसले आगामी स्थानीय तह निर्वाचनमा व्यापक तयारीका साथ सहभागिता जनाउनेछ।

प्रकाशित मिति: १६ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com