काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापा ले आगामी स्थानीय तह निर्वाचनमा कम्तीमा १०० स्थानीय तह मा महिला उम्मेदवारलाई मेयर वा अध्यक्ष पदमा अघि सारिने घोषणा गरेका छन्।
उनले पार्टीभित्र नेतृत्व विकासलाई संस्थागत गर्दै उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित र योग्यतामूलक बनाइने स्पष्ट पारे।
शनिबार काठमाडौंमा आयोजित नेपाल थारु संघको प्रथम महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले अब पार्टीबाट स्थानीय तहको निर्वाचन लड्न इच्छुक सबैले ‘लिडरसीप एकेडेमी’ मार्फत प्रशिक्षण कोर्स पूरा गर्नुपर्ने अनिवार्य व्यवस्था लागू गरिने जानकारी दिए।
उनका अनुसार पार्टीले स्थापना गरेको लिडरसीप एकेडेमी नेतृत्व उत्पादन गर्ने औपचारिक संरचना हुनेछ, जसमा नयाँ तथा दोहोरिन चाहने दुवै प्रकारका उम्मेदवारहरूले अनिवार्य रूपमा भर्ना भएर निर्धारित कोर्स पूरा गर्नुपर्नेछ।
कोर्स सफलतापूर्वक पूरा गरेपछि मात्रै उम्मेदवारका रूपमा योग्य ठहरिने व्यवस्था लागू गरिने उनले बताए।
थापाले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठनात्मक तयारी तीव्र पारिएको उल्लेख गरे।
उनले ७५३ स्थानीय तहमध्ये कम्तीमा १०० पालिकामा कांग्रेसको तर्फबाट महिला मेयर वा अध्यक्ष उम्मेदवार उठाउने लक्ष्य निर्धारण गरिएको बताए।
महिला नेतृत्वलाई प्राथमिकता दिँदै अहिलेबाटै प्रशिक्षण र तयारीमा जोड दिनुपर्ने उनको भनाइ थियो।
उनले भने, महिला उम्मेदवार संख्या बढाउनका लागि पार्टी संरचना, प्रशिक्षण प्रणाली र छनोट प्रक्रियालाई समावेशी बनाइनेछ। त्यसका लागि महिला नेतृत्व विकासमा विशेष ध्यान दिइने र अधिकभन्दा अधिक महिलालाई लिडरशिप एकेडेमीमा सहभागी गराइने योजना रहेको उनले स्पष्ट पारे।
थापाले पार्टीले निर्वाचन व्यवस्थापनका लागि छुट्टै ‘इलेक्सन ब्युरो’ गठन गरिसकेको जानकारी पनि दिए।
उक्त ब्युरोको नेतृत्व पूर्व उपसभामुख पुष्पा भुसालले गरिरहेकी छन्।
उनका अनुसार आगामी निर्वाचनमा कांग्रेस संगठनलाई अझ व्यवस्थित, प्रतिस्पर्धी र समावेशी बनाउने लक्ष्यका साथ काम भइरहेको छ।
प्रकाशित मिति: १६ जेष्ठ २०८३, शनिबार












प्रतिक्रिया