काठमाडौं। काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पताल मा उपचारका क्रममा एक सुत्केरी महिला र नवजात शिशुको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ।
घटनापछि आक्रोशित आफन्तहरूले अस्पताल प्रशासनविरुद्ध प्रदर्शन गर्नुका साथै एक कर्मचारीमाथि कुटपिट गरेका छन्।
बेथानचोक गाउँपालिका–१ निवासी सुत्केरी महिला र उनको नवजात शिशुको अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचारकै क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
मृतकका आफन्तहरूले चिकित्सकीय लापरवाहीका कारण आमा र शिशुको ज्यान गएको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।
घटनापछि धुलिखेल अस्पताल परिसरमा आफन्त तथा स्थानीयले नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए।
प्रदर्शनका क्रममा अस्पतालका कर्मचारी सूर्यप्रकाश श्रेष्ठमाथि कुटपिट भएको बताइएको छ।
कुटपिटबाट घाइते भएका श्रेष्ठको उपचार धुलिखेल अस्पतालमै भइरहेको छ।
घटनाले अस्पताल परिसर केही समय तनावपूर्ण बनेपछि सम्भावित अप्रिय अवस्था रोक्न ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ।
सुरक्षा निकायले अस्पतालको अवस्था नियन्त्रणमा राख्ने प्रयास गरिरहेको जनाएको छ।
यसैबीच, अस्पताल प्रशासन र पीडित परिवारबीच वार्तामार्फत समस्या समाधान गर्ने प्रयास भइरहेको छ।
मृत्युको वास्तविक कारणबारे आवश्यक चिकित्सकीय तथा प्रशासनिक अनुसन्धान अघि बढाइने अस्पताल स्रोतले जनाएको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १६ जेष्ठ २०८३, शनिबार












प्रतिक्रिया