काठमाडौं। अमेरिकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स ले नेपालको साहसिक पर्यटन, नवप्रवर्तन र प्रविधिको विकासमा संयुक्त राज्य अमेरिकाले सधैँ बलियो सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
काठमाडौंमा आयोजित ‘एसेन्ट समिट’ लाई सम्बोधन गर्दै उनले नेपाल र अमेरिकाबिचको ७९ वर्ष लामो कूटनीतिक सम्बन्ध तथा पर्वतारोहणको क्षेत्र ऐतिहासिक कडीका रूपमा रहेको बताइन् ।
अमेरिकाले आफ्नो स्वतन्त्रताको २५०औँ वार्षिकोत्सव मनाइरहेको सन्दर्भ उल्लेख गर्दै उपविदेशमन्त्री रोजर्सले अमेरिकी चरित्र र नेपाली पर्वतारोहणको विरासतमा एउटै प्रकारको साहस र कौतुहलता पाइएको उल्लेख गरिन् ।
उनका अनुसार अमेरिकाको जग नै अन्वेषण र जोखिम मोल्ने साहसले बनेको र यही भावनाले अमेरिकीहरूलाई नेपालका हिमालहरूसम्म डोर्याउने गरेको हो ।
सन् १९६३ मा जिम ह्विटाकरले शेर्पा नवाङ गोम्बूसँग मिलेर सगरमाथाको सफल आरोहण गरी प्रथम अमेरिकी आरोही बनेको ऐतिहासिक क्षणलाई स्मरण गर्दै उनले यसले दुई देशबिचको सम्बन्धलाई थप प्रगाढ बनाएको स्पष्ट पारिन् ।
उनका अनुसार यस वर्ष मात्र ६७ जना अमेरिकी नागरिकले सगरमाथा आरोहणको प्रयास गरेका छन् ।
नेपालको पर्यटन क्षेत्रमा अमेरिकाको बलियो उपस्थिति रहेको तथ्य प्रस्तुत गर्दै उनले सन् २०२३ मा नेपाल भ्रमण गर्ने ११ लाख ५० हजार अन्तर्राष्ट्रिय पर्यटकमध्ये १ लाख १२ हजार अमेरिकी नागरिक रहेको जानकारी दिइन् ।
यस तथ्यांकले अमेरिकालाई नेपालको दोस्रो ठुलो पर्यटकीय स्रोत बजार बनाएको र अमेरिकी पर्यटकहरूको आगमनले नेपालका पथप्रदर्शक, होटल तथा स्थानीय समुदायको आर्थिक उत्थानमा प्रत्यक्ष सहयोग पुगेको उनले बताइन् ।
शिखर सम्मेलनका क्रममा रोजर्सले पर्वतारोहण अब केवल हिमाल चढ्ने कुरामा मात्र सीमित नरही यसमा प्रविधि र सुरक्षाको भूमिका महत्त्वपूर्ण हुँदै गएकोमा जोड दिइन् ।
हिमालय क्षेत्रको विषम परिस्थितिमा प्रविधिको वास्तविक परीक्षण हुने भन्दै उनले ड्रोन प्रविधि, सञ्चार उपकरण र उच्च गुणस्तरका सुरक्षा सामग्रीको उत्पादनमा अमेरिकी कम्पनीहरूले नेतृत्व गरिरहेको उल्लेख गरिन् ।
आरोहणको सफलता शिखरमा पुग्नु मात्र नभई कोसँग यात्रा गरिन्छ भन्नेमा पनि निर्भर हुने चर्चा गर्दै उनले विगत ७९ वर्षदेखि अमेरिका नेपालको भरपर्दो सहयात्री रहिआएको र आगामी दिनमा यो साझेदारीले नयाँ उचाइ लिने विश्वास व्यक्त गरिन् ।
नेपाली आरोहण दलहरूले अमेरिकी प्रविधि र उपकरण प्रयोग गर्दा आरोहण थप सुरक्षित र सफल हुने विश्वास व्यक्त गर्दै उनले नेपालको आर्थिक वृद्धि र दिगो पर्यटनका लागि अमेरिकी लगानी तथा प्रविधि हस्तान्तरण निरन्तर जारी रहने प्रष्ट पारिन् ।
प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार












प्रतिक्रिया