काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुर्तीजन्य पदार्थको सेवन त्यागका लागि संकल्प गर्न आग्रह गरेकी छन् ।

आइतबार ‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’ को सन्दर्भमा सन्देश जारी गर्दै उनले सुर्तीजन्य पदार्थको प्रयोगकर्ताहरूलाई आजैबाट यसलाई त्याग्न संकल्प गर्न आग्रह गरेकी हुन् ।

advertisement

मन्त्री मेहताले आधुनिक र फरक देखिने नाममा भेप र हुक्काजस्ता कुनै पनि हानिकारक पदार्थको प्रयोग र प्रलोभनमा नपर्न पनि आग्रह गरेकी छन् ।

उनले सुर्तीजन्य पदार्थ वा भेपको लतबाट मुक्त हुन चाहनेका लागि मन्त्रालयले सहयोग र परामर्श उपलब्ध गराउनेसमेत बताएकी छन् ।

मन्त्री मेहताले इ-सिगरेट, भेप र हुक्कामा परम्परागत सुर्तीजन्य पदार्थमा जस्तै हानिकारक निकोटिन र विषाक्त तत्व हुने भएकाले कुनै भ्रममा नपर्न पनि अनुरोध गरेकी छन् ।

उनले भनेकी छन्, “सुर्तीजन्य पदार्थको प्रयोग एक गम्भीर जनस्वास्थ्य चुनौती बनिरहेको छ ।

पछिल्लो तथ्याङ्कअनुसार नेपालमा करिब २९ प्रतिशत मानिस सुर्तीजन्य पदार्थको सेवन गरिरहेका छन् ।

देशमा हरेक वर्ष बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने तथ्याङ्क अत्यन्त दुःख र सबैका लागि चिन्ताको विषय हो ।

त्यसैले यसको लत छोड्न आग्रह छ ।”

मन्त्री मेहताले किशोर किशोरीलाई लक्षित गरी सुर्ती उद्योगले अपनाएका नयाँ रणनीतिहरू चुनौतीका रूपमा रहेका भन्दै उद्योगलाई मानव स्वास्थ्यमा गम्भीर बन्न आग्रह गरिन् ।

मन्त्री मेहताले सुर्तीजन्य पदार्थका विद्यमान चुनौतीको समाधान गर्न सरकारले नियन्त्रण र नियमनसम्बन्धी कानुन व्यवस्थापनको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिएको जानकारी दिइन् ।

प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com